काठमाडौँ । काठमाडौँका क्यासिनोमा संगठित रूपमा लुट र ठगीको धन्दा सञ्चालन हुँदै आएको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले लामो समयको अनुसन्धानपछि ठमेलस्थित दुई क्यासिनोमा भारतबाट आएको गिरोहले अत्याधुनिक प्रविधि प्रयोग गरी जुवा खेल्दै ठगी गरेको खुलासा गरेको हो ।

प्रहरीका अनुसार चुम्बक जडित तास र आँखामा लगाउने विशेष लेन्स प्रयोग गरी खेलाडी तथा क्यासिनो सञ्चालकको मिलेमतोमा ठगी धन्दा चलाइएको थियो । सोही आरोपमा भारतीय र नेपाली नागरिक सम्मिलित गिरोहका ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा सुरेश महाजन, दिनेश वर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवाडी पाण्डे रहेका छन् ।

यद्यपि अनुसन्धानका क्रममा क्यासिनो सञ्चालकसहित अन्य केही व्यक्तिको संलग्नता खुले पनि उनीहरू फरार रहेको प्रहरीले जनाएको छ । फरार रहनेमा विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर भन्ने मल्ली पुरी, कमल खरबन्दा र मुकेश रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको छ । अनुसन्धानका क्रममा ठगीका लागि डमी खेलाडी खडा गरिएको र ती खेलाडी राख्न काठमाडौँका तीन पाँचतारे होटलमा ११० वटा कोठा बुक गरिएको पाइएको छ । होटल अलफ्टमा ४०, मेरियटमा ५० र राडिसनमा २० वटा कोठा बुक गरिएको थियो ।

प्रहरीका अनुसार महाकाया ग्रुपका दिनेश वर्माले भारतबाट ५० प्याकेट चुम्बक जडित तास र ४ सेट विशेष लेन्स खरिद गरी क्यासिनोमा प्रयोग गरेका थिए । बीपी ग्रुपका जनार्दन उप्रेतीले १२ सेट तास क्यासिनोभित्र प्रवेश गराएको र ३८ सेट होटलमा स्टक राखेको खुलेको छ ।

अनुसन्धानका क्रममा आँखामा लगाउने विशेष लेन्सका दुई सेट खाली डब्बा पनि बरामद गरिएको छ । एक जोडी लेन्स डमी खेलाडीले प्रयोग गरेको र अर्को जोडी गौरव खत्री र मोनु भन्ने निरज कुमारले प्रयोग गरी फरार भएको प्रहरीको ठहर छ ।

प्रहरीका अनुसार यस ठगी धन्दाका मुख्य योजनाकार भारतको हरियाणाका दिनेश वर्मा र उत्तराखण्डका विक्रम सिंह हुन् । चुम्बक जडित तास र विशेष लेन्सको व्यवस्थापन वर्माले गरेका थिए । ठगीबाट जितिएको रकममध्ये ९० प्रतिशत क्यासिनो सञ्चालकले र १० प्रतिशत खेलाडीले पाउने व्यवस्था गरिएको पाइएको छ ।

नेपालतर्फबाट बीपी ग्रुपका विनोद भन्ने जनार्दन उप्रेती मुख्य आयोजकको भूमिकामा रहेको प्रहरीको दाबी छ । उनले होटल बुकिङ, हवाई टिकट, क्यासिनो टेबल बुकिङ, भुक्तानी व्यवस्थापनदेखि स्वयं जुवा खेल्ने कामसमेत गरेको खुलेको छ । साथै महाकाया समूहका सञ्चालक सुरेश महाजनले नेपालसहित भारत, श्रीलंका, भियतनाम र कम्बोडियामा यस्ता इभेन्ट सञ्चालन गर्दै आएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार क्यासिनो प्राइडमा पछिल्लो दुई वर्षदेखि र क्यासिनो वाल्डोमा मंसिर २५ देखि २८ गतेसम्म यस्ता इभेन्ट सञ्चालन भएको पाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।