काठमाडौँ । जेनजी आन्दोलनलाई पूर्ण समर्थन गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो । तर उनी तयार भएनन् । बरु प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने भन्दै समर्थकलाई धैर्य गर्न आग्रह गरे ।
सुशीला कार्की नेतृत्वमा सरकार बनेपछि फागनु २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको घोषणा भयो । धेरै लोकप्रिय अनुहारहरु नयाँ दल दर्ता गरेर निर्वाचनका लागि तयारी गरिरहेका छन् । तर बालेन भने लामो समय मौन रहे । धेरैले बालेनलाई निर्वाचनमा सहभागि हुनपर्छ भन्ने सल्लाह दिए पनि उनले बेवास्ता गरिरहेका थिए । तर पछिल्ला दिनमा उनी सक्रिय बन्न थालेका छन् ।
बालेनले बुधबार मध्यरातसम्म विभिन्न क्षेत्रका सक्रिय र चर्चित मान्छेहरूसँग भेटघाट गरे । ललितपुरमा बसेर सक्रिय बालेनले भेटघाटका लागि त्यहाँ बोलाउने गरेका छन् । मेयर बालेनका सचिवालयका अनुसार छलफलमा मेयर बालेनले प्रत्यक्ष चुनाव लड्न सक्ने सम्भावित पात्रहरूसँग भेटेका हुन् ।
बालेनले प्रत्यक्ष चुनाव लड्दा सार्वजनिक रूपमा छवि राम्रा भएका मान्छेहरू चाहिने बताउँदै सोही अनुसारका व्यक्ति बोलाएर छलफल गरिरहेका छन् ।
बालनेको पार्टीको नाम र चुनाव चिन्हबारे लगभग तय नै छ । मेयर बालेनले सहरी योजना आयोगमा सहायक विज्ञ बनाएका सन्तोष गिरीसहितको टिमले नै दस्ताबेज बनाइसकेका थिए ।
जसमा डा भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डेसँग बालेनले छलफल गरेका छन् । यस्तै पत्रकार ऋषि धमला, नजमत पार्टीका अध्यक्ष सिके राउत, सञ्चार उद्यमी कैलाश सिरोहिया समेत छलफलमा सहभागी रहेको थियो ।
गत सोमबार बालेनले रास्वपाका सभापति रवि लामिछानेसँग कमलपोखरीमा छलफल गरेका थिए । सो छलफल टुंगोमा नपुगेपछि उनले बुधबार अन्यसँग छलफल चलाएका हुन् ।
बालेन आफ्नै नेतृत्वमा दल बनाउने मुडमा छन् । देश विकास पार्टीको नेतृत्व आफैंले गर्ने र लौरो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने बालेनको मुड छ ।
देश विकास पार्टीको अध्यक्ष हाल सन्ध्या खनाल छिन् । पहिले इन्जिनियर अनन्तराज घिमिरे नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’लाई अध्यावधिक गरेर ‘देश विकास पार्टी’बनाइएको हो । चुनाव चिह्न ‘हाम्रो नेपाली पार्टी’कै लौरो नै कायम गरिएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदको चुनाव बालेनले लौरो चुनाव चिह्नबाटै जितेका थिए ।



Facebook Comments