काठमाडौं । प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा सिनामंगल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतकै २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन् । ब्युरोका सह–प्रवक्ता डीएसपी जीवन निरौलाका अनुसार उनीहरू नेपालमा बसेर कोकिनको कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौँ आएकी रुसानी कामासँग ५५० ग्राम कोकिन बरामद गरिएको छ । त्यसैगरी लाओसबाट सिङ्गापुर हुँदै काठमाडौँ आएका भारतीय नागरिक जेभियर र नेपालमा कोकिन लिन आएका मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन फेला परेको प्रहरीले जनाएको छ ।
कामाले १२ वटा प्लास्टिक प्याकेटमा क्याप्सुलभित्र लुकाएर र जेभियरले सुटकेसभित्र लुकाएर कोकिन ल्याएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
नेपाल अब लागुऔषध कारोबारका लागि केवल ‘ट्रान्जिट’ मात्र होइन, सुरक्षित गन्तव्य बन्दै गएको त होइन ? चार किलोभन्दा बढी कोकिनसहित तीन जना विदेशी नागरिकको पक्राउले यही गम्भीर प्रश्न उठाएको छ ।
लाओस, थाइल्याण्ड, सिङ्गापुर हुँदै काठमाडौँ प्रवेश गर्ने अन्तर्राष्ट्रिय लागुऔषध सञ्जालको एक कडी सिनामंगलबाट सार्वजनिक हुनु संयोग होइन । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू नेपालमै बसेर कोकिनको कारोबार गर्दै आएको देखाउँछ । यसले नेपाल विदेशी लागुऔषध कारोबारीका लागि ‘सेफ जोन’ बन्दै गएको त होइन भन्ने शंका थप बलियो बनाएको छ ।
सबैभन्दा चिन्ताजनक पक्ष के छ भने कोकिनजस्तो महँगो र उच्चस्तरीय लागुऔषध अब काठमाडौँसम्म सहजै आइपुगिरहेको छ । क्याप्सुलभित्र, सुटकेसभित्र लुकाएर हवाई मार्ग प्रयोग गरी नेपाल प्रवेश गर्नु सुरक्षा संयन्त्रको चुनौती मात्रै होइन, गम्भीर कमजोरीको संकेत पनि हो ।



Facebook Comments