काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले अघि सारेको १३ बुँदे माग सम्बोधन भए सडक संघर्षमा जाने चेतावनी दिएका छन् । नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकलाई सम्बोधन गर्दै आफूहरूले शान्तिपूर्ण आन्दोलन गर्ने बताए ।

१३ सूत्रीय मागबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिए । उनले सर्वपक्षीय सरकारको मागबाट आफूहरू पछि नहट्ने भन्दै उनले भने, ‘हामी १० दिन कुर्नेछौँ, यदि बेवास्ता गरियो भने जनता र जेनजीको समर्थनमा आन्दोलन सुरु गर्नेछौँ ।’ वर्तमान सरकारले जेनजीको भावनालाई आत्मसात गर्न नसकेकाले राजनीतिक दलको नेतृत्वमा सर्वपक्षीय सरकार गठनका लागि जेनजी युवाहरुलाई समेत साथमा लिएर सडक संघर्ष गर्ने बताएका हुन् ।

आफुहरुको मागमा आवश्यकताको सिद्धान्तलाई प्रयोग गरी संविधानलाई संशोधन गर्नुपर्ने, समाजवादी सङ्घीय ढाँचामा राज्यको पुनर्संरचना गर्नुपर्ने, जेनजी आन्दोलनमा भएका सवै घटनाको छानविन गर्नुपर्ने लगाएत रहेको उनले बताए ।

नयाँ संविधान जारी भए पनि जनताका अधिकारहरू अझै अपूर्ण रहेको बताए । उनले थपे, ‘हामी समाजवादी सङ्घीयता को पक्षमा छौँ र सबै नागरिकले राज्यमा स्वामित्व महसुस गर्ने गरी राज्य संरचना पुनःसंरचना हुनुपर्छ ।’

उनले भ्रष्टाचारको छानबिन गरेर सम्पत्तिको राष्ट्रियकरण गरेर दोषीलाई जन्मकैदसम्मको फैसला गर्नुपर्ने माग आफूहरूले अघि सारेको बताए । हिजो राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउँदै पार्टीले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकार बनाउन माग गरेको थियो ।