काठमाडौ  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा रहे पनि शान्तिपूर्ण वातावरणमा चुनाव हुने भने त्यसको सामना गर्न र जनताका गएर बहुमत ल्याउन एमाले तयार रहेको बताएका छन् ।
 
नेकपा (एमाले)को हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवकहरुलाई सम्मान र प्रमाणपत्र वितरण गन आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले आफूहरु चुनावविरोधी नरहे पनि मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताएका हुन् । 

“अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन । वातावरण बनाउने सरकारले हो । हामीले वातावरण बिगारेका छैनौँ । वातावरण बन्छ भने हामी जस्तो सुकै परिस्थितिको सामना गर्न तयार छौँ । हामीले मान्छे काट्छौँ, मार्छौ भनेका छैनौँ । त्यत्रो असुरक्षा हुँदा पनि हाम्रो सुरक्षा खोसिएको छ । कहिले जेनजीका नाममा मान्छे उचाले हमलाको प्रयास गरिएको छ ।’’, अध्यक्ष ओलीले भने ।

ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताएका छन् । स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने चाहना एमालेको भएको उनको भनाइ छ । ‘निर्वाचनको परिस्थित सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ। हामी चुनावमा जान्छौँ बहुमत ल्याउछौँ,’ उनले भने, ‘स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् । हामी त्यही समयको पर्खाइमा छौँ । हामी जस्तो पनि परिस्थितिका लागि तयार छौँ ।’

“देशलाई पछाडि फर्काउने पक्षहरुबाट सचेत भएर युवाहरु लाग्नुपर्छ । राष्ट्रिय एकतालाई कायम गर्दै लोकतन्त्र र संविधानको रक्षा गर्नु हाम्रो काम हो । यी अभिभाराहरु हाम्रो काँधमा रहेका छन् । युवाहरु गलत सङ्गत सोच तथा व्यक्तिगत स्वार्थीका पछाडि लाग्नुहुन्न ।’’ ओलीको भनाइ छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै बोलाइएको बैठकमा सहभागी भएको र त्यहाँ आफूले आफूहरु चुनावको विरोधमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने स्पष्ट गरेको बताउँदै उनले प्रतिनिधिसभाको पुनःस्थापना छिटो हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिए । 

‘चुनाव विरोधी हामी होइनौं प्रतिगमनविरोधी हौं । सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ तसर्थ हामीले संसद पुनःस्थापनाको माग गरेका हौं’, ओलीले भने । उनले अदालतमा मुद्दा रहेकाले फैसला पर्खिएको बताए । 

‘राष्ट्रपति प्रधानमन्त्रीले चुनाव गराऔँ भन्नु हुन्छ भने ठीक छ हामीले वातावरण बनाउनु भनेका छौँ तर खोई वातावरण ?’, ओलीले प्रश्न गरे ।

उनले थपे, ‘चुनावको वातावरण छैन । नेताहरूलाई बाहिर निस्कन दिँदैनौं । हामीले भनेका छौं र ? त्रासको वातावरण छ । 

उनले गत भदौ २३ र २४ गतेको घटनामा स्थलमा खटिएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाका लागि निर्णय गर्ने अधिकार पाएको हुनाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउन खोजिनु कानुन सम्मत नभएको स्पष्ट गरे ।

जाँचबुझ आयोगले बयान लिन बोलाउने तयारी गरेको भन्ने सन्दर्भमा उनले भने  “स्थलमा खटिएका प्रहरी र कमाण्डरले त्यहाँको परिस्थिति अनुसार सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षा गर्ने दायित्व उसैको भएकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयान लिने प्रयास कानुन विपरीत छ ।’’

ओलीले त्रास खडा गर्न मिडिया ट्रायल गर्ने गरेको बताए । उनले भने– ‘बच्चाबच्चीलाई त्रास देखाए जस्तै लौ जेन–जी आयो जेनजीले जेन–जीले यसो गर्छन् उसो गर्छन् भनेर त्रास देखाएका छन् । नवयुवाहरूको नाम फेरेर जेन–जी राखिएको छ । टाठाबाठाले खाएका छन् ।’