काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले पार्टीका कुल क्रियाशील सदस्यहरूमध्ये करिब ७५ प्रतिशतको सदस्यता नवीकरण सम्पन्न भइसकेको जनाएको छ।

बिहीबार बसेको समितिको बैठकमा हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै अधिकांश सदस्यले सदस्यता नवीकरण गरिसकेको जानकारी दिइएको हो।

बैठकले ओमान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) का नेपाली कांग्रेसका जनसम्पर्क समितिहरूले सदस्यता नवीकरण तथा वितरणको काम पूरा गरिसकेको निष्कर्ष निकालेको छ। ती समितिलाई अधिवेशन गर्न अनुमति दिन आवश्यक फाइल पार्टीको केन्द्रीय निर्वाचन समितिमा पठाउने निर्णय गरिएको छ।

साथै, केही जिल्लामा क्रियाशील सदस्यता नवीकरण र वितरणको प्रक्रिया ढिलो भइरहेको भन्दै त्यस्ता स्थानमा आपसी सहमतिका आधारमा फास्ट ट्रयाकमार्फत प्रक्रिया टुंग्याउने निर्णय गरिएको छ।

सदस्यता स्थानान्तरणसम्बन्धी विषयमा पार्टी विधानमा उल्लेखित मापदण्डलाई कडाइका साथ पालना गर्ने सहमति पनि बैठकमा भएको छ।

हाल १२५ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता फारमहरू सर्भरमा प्रविष्ट गर्ने काम भइरहेको समितिले जनाएको छ।

त्यसैगरी, कपिलवस्तुमा तत्कालीन जनता समाजवादी पार्टीको प्रदेश स्तरीय समिति गाभेका सहजराज यादवलाई ७७५ वटा सदस्यता नवीकरण फारम उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।