काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई निर्वाचनको वातावरण बनाउन सुझाव दिएका छन् । आज बिहान आफ्नो निवासमा भेट्न आएका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले सो सुझाव दिएका हुन् ।
‘सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्’ देउवाको भनाइ उद्धृत गर्दै मन्त्री खरेलले भने ।

खरेलले कांग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेट्दैछन् ।

फागनु २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले सक्रियता देखाएको हो ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई साक्षी राखेर देउवा, ओली र प्रचण्डसँग भेटवार्ता गरेकी थिइन् । नेपाली कांग्रेस निर्वाचन वा संसद पुनःस्थापना दुवैका लागि पर्ख र हेरको अवस्थामा छ । नेकपा एमालेले निर्वाचनको वातावरण नबनेको जिकिर गर्दै आएको छ भने संसद पुनःस्थापना गराएरै छाड्ने पक्षमा छ ।

नेपाली कम्युनिष्ट पार्टी भने निर्वाचनको विकल्प नभएको भन्दै देश दौडाहामा लागेको छ ।