काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पदभार ग्रहण गरेका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए । मन्त्री शर्माले आफू मन्त्रीपरिषद्मा आउँदा राम्रो हुन्छ भने आउनुपर्छ भनेर मन्त्री बनेको बताए । उनले निर्वाचनको सम्बन्धमा छिमेकी देशहरुसँग कुनै सहयोग लिनुपर्ने भए सही तरिकाले सहकार्य गर्ने बताए । 

‘नेपालको इमेज संसारभर कसरी राम्रो गर्ने भन्ने विषयमा अघि बढ्नेछु । यो मुलुक हाम्रो हो । हामीले जति खालि राख्छौँ त्यति समस्या हुन्छ । हामी आएर मुलुकको, मन्त्रालयको उद्धार हुन्छ भने रोक्नु हुँदैन भनेर आएको हुँ । हरेक राजदुतहरूको आफूले विभिन्न मुलुकमा गरेका कामहरू हेरिएको होला । त्यसरी नै काम गरिएको होला भन्ने विश्वास छ,’ उनले भने ।

एक जना मन्त्री थपिएसँगै अब मन्त्रीमण्डल १५ सदस्यीय बनेको छ । प्रधानमन्त्री बनेलगत्तै सुशीला कार्कीले ११ जनाको मन्त्रीमण्डल बनाउने घोषणा गरे पनि १५  जना पुगेको छ । 

नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाइएको हो । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् । माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने काममा भूमिका खेलेका थिए । राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । 

प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको सफल नेतृत्व गरेका उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।