रौतहट । रौतहटमा सञ्चालित ज्योती डिस्टीलरी उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कटहरीया नगरपालिका–९ मा रहेको मदिरा उत्पादन गर्ने उद्योगमा आज बिहान विस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको हो । बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन् । घाइते हुने सबै उद्योगमा कार्यरत कामदार हुन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगञ्जतर्फ रिफर गरिएको छ। घाइतेको पहिचान र विस्फोटको ठोस कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते तथा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
बिहान अचानक ठूलो आवाज सहित डिस्टीलरीको बोइलर विष्फोट भएको थियो । विष्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विस्फोट अत्यन्तै शक्तिशाली रहेकाले डिस्टिलरी परिसरमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।



Facebook Comments