काठमाडौं । गत बुधबारदेखि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको राजनीतिक सक्रियताले राष्ट्रिय राजनीति तरंगित बनेको छ । उनको सक्रियतासँगै ‘नयाँ’ र ‘वैकल्पिक’ भनिएका शक्तिहरू पुनः चलायमान देखिएका छन् । ललितपुरस्थित आफू बस्दै आएको घरमै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री रवि लामिछाने र बहालवाला मन्त्री कुलमान घिसिङलगायत नेताहरूसँग लगातार भेटघाट गरेपछि बालेन शाह सम्भावित ‘किङमेकर’का रूपमा प्रस्तुत हुन थालेका छन् ।

ती भेटघाटपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङसँग जोडिँदै आएको उज्यालो नेपाल र बालेनको देश विकास पार्टीबीच एकताको आधार तय भएको दाबी व्यापक रूपमा फैलियो । शुक्रबार तीन नेताबीच एकताको सम्झौता हुने र शनिबार औपचारिक घोषणा गरिने चर्चा राजनीतिक वृत्तमा तीव्र थियो । तर शनिबारसम्म आइपुग्दा ती चर्चाहरू ठोस निष्कर्षमा रूपान्तरण हुन सकेका छैनन् ।

आज पनि ती तीन शक्ति विभिन्न तह र कोणबाट छलफलमा रहेको बताइन्छ । स्रोतका अनुसार एकताको मूल प्रश्न सिद्धान्तभन्दा बढी भागबण्डामा केन्द्रित छ—नेतृत्व, पद र संरचनाको बाँडफाँट कसरी मिलाउने भन्ने विषय नै मुख्य अड्चन बनेको देखिन्छ ।


यससँगै ‘नयाँ’ र ‘वैकल्पिक’ राजनीतिका नाममा उदाएका शक्तिहरू पनि अन्ततः परम्परागत भागबण्डाको राजनीतिबाट अलग रहन नसकेको टिप्पणी हुन थालेको छ । परिवर्तनको दाबी बोकेका यी शक्ति पुरानै राजनीतिक रोगबाट मुक्त हुन सक्छन् वा सक्दैनन् भन्ने प्रश्न अहिलेको छलफलको केन्द्रमा उभिएको छ ।

‘वैकल्पिक शक्ति’ भन्ने शब्द आफैं विकल्प खोजिरहेको जस्तो देखिन्छ । पुरानाबाट दिक्क भएको जनताका लागि नयाँ अनुहार आए पनि राजनीतिक संस्कार भने उही भागबण्डा र हैसियतको खेलमै सीमित देखिन थालेको छ । प्रश्न अब एउटै छ—नयाँ राजनीति वास्तवमै नयाँ हो, कि पुरानै बोतलमा नयाँ लेबल मात्रै ?