काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् । आज शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावमा जान तयार भएको जिकिर गरेका हुन् । कांग्रेस, एमालेलगायत सबै दल निर्वाचनमा जान तयार रहेको देउवाले बताए । तर सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने शर्त भने दलहरुले छोडेका छैनन् ।

बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

देउवा, ओली र प्रचण्डलाई प्रधानमन्त्री सुशीला कार्कीले गरेको आग्रह यस्तो छ–
मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ । यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ । प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु । मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ । तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु । त्यस्तो वातावरण बनिरहेको देख्छु । यो स्वागतयोग्य छ । हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएका छौँ। भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ । सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौँ । अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ ।