काठमाडौं । भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन् । मन्त्री घिसिङले आइतबार बिहान पोखरा–मुगलिङ्ग सडक खण्ड अन्तर्गत पर्ने निर्माणाधीन सेती पुलको निरीक्षण गरेका हुन् ।

पोखरा आवतजावतको क्रममा सवारीसाधन थुप्रिने साँघुरो बोटलनेकको रूपमा रहेको उक्त स्थानमा निर्माणाधीन पुलको भौतिक प्रगति ५४ प्रतिशत रहेको छ ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले पुल निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिएका छन् ।

गत भदौमा नै तीनवर्षे ठेक्का अवधि सकिएको सेती पुलको भौतिक प्रगति न्यून देखिएको हो । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमै बन्न नसकेको हो ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो । पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पश्चिम खण्डमा पोखराको सेती पुल निर्माण भइरहेको हो ।