काठमाडौँ । निर्वाचन आयोगले भोलि राति १२ बजेसम्म समानुपातिक उम्मेदवारको नाम बुझाउन समयसीमा तोकेसँगै आयोग र राजनीतिक दलहरू दुवै अत्यन्त व्यस्त बनेका छन् । प्रमुख तथा ठूला दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्न सकस परेको छ ।

कसको नाम समावेश गर्ने र कसलाई हटाउने भन्ने विषयमा दलभित्र आन्तरिक विवाद चुलिएको छ । सहमति जुटाउन नसक्दा कतिपय दलहरू आज रातभर बसेर छलफल गर्न बाध्य भएका छन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले) आज बिहानैदेखि निरन्तर बैठकमा छन् भने नेकपामा संयोजक प्रचण्डलाई पनि बन्दसूची अन्तिम रूप दिन चुनौती देखिएको छ ।

आज बिहान मात्र सहमति गरेका रवि लामिछाने र बालेन शाह पनि समानुपातिक सूचीको अन्तिम गृहकार्यमा जुटेका छन् । स्रोतका अनुसार बालेन पक्षलाई ४० प्रतिशत हिस्सा दिएर बाँकी स्थान रवि पक्षका व्यक्तिहरू समेट्ने तयारी भइरहेको छ ।

निर्वाचन आयोगमा १ सय १० जनाको बन्दसूची बुझाउनुपर्ने व्यवस्था छ । देशभरबाट प्राप्त लोकप्रिय मतका आधारमा समानुपातिक प्रणालीमार्फत उम्मेदवार निर्वाचित हुनेछन् । आयोगको निर्देशिकाअनुसार आदिवासी जनजाति, खस आर्य, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र गरी सातवटा क्लस्टरबाट उम्मेदवार चयन गर्नुपर्ने छ ।
हरेक समूहबाट कम्तीमा ५० प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य भएकाले दलहरूमा रस्साकस्सी थपिएको छ ।