काठमाडौँ । नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशलाई निकास दिने सबैभन्दा उत्तम विकल्प निर्वाचन नै भएको बताएका छन् ।  सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्नसक्ने चेतावनी दिए ।

उनले सबै राजनीतिक दलहरु निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर यसतर्फ लागेको बताए । सबैको सामुहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास सकिने उनको भनाइ थियो ।

उनले भने, ‘देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न पनि सक्छ भन्ने पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दसूची प्रस्तुत गर्दैछौँ । सबै राजनीतिक दलहरु पनि विभिन्न उत्तारचढाव हुँदै निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर सबै सहभागी हुने जो वातावरण बनेको छ, म सबैलाई धन्यवाद भन्न चाहन्छु ।’

संयोजक दाहालले जेनजीहरुको राजनीतिप्रति रुचि बढ्दै जानु सकारात्मक पक्ष भएको बताए । उनले थपे, ‘जेन्जी आन्दोलनले युवा पुस्ता पनि देशको राजनीति र सुशासनप्रति सचेत भएको सन्देश गएको छ ।’

उनले नेपाली जनताको एकता, राजनीतिक दल र सबैको सामुहिक प्रयासमा राष्ट्रलाई निकास दिने काममा लाग्नु पर्ने बेला आएको बताए । अराजकताबाट मुलुकलाई निकास दिन जरुरी भएको उनको तर्क थियो ।

उनले निर्वाचनको तयारीका सन्दर्भमा काम भइरहेको र सबै दलहरु लागिरहेका बताए ।