काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र हत्याको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगमा पुगेका निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा आफुले गोली चलाउने कुनै आदेश नदिएको बताएका छन् ।
सोमबार भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिएपछि कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका क्रममा गोली चलाउन आफु कुनै लिखित वा मौखिक आदेश नदिएको बताएका छन् । आन्दोलनलाई दमन गर्न गृहमन्त्रीले गोली चलाउन आदेश दिनुपर्ने कानुनी व्यवस्था समेत नरहेको धारणा राखे ।
भाद्र २३ गते भएको घटनाका कारण मर्माहित भएर पदीय मर्यादाको नैतिकताका आधारमा आफुले पदबाट राजीनामा दिएको उनको भनाइ छ । लेखकले जेनजी आन्दोलनको अघिल्लो दिन गृहमन्त्रीको हैसियतले क्याजल्टी र कुनै व्यक्तिको मृत्यु हुने अवस्था आउन नदिन सुरक्षा निकायलाई निर्देशन दिएको दावी गरे ।
घटनामा घुसपैठ भए हिंसात्मक घटना भएको बताए । लेखकले जाँचबुझ आयोगमा मौखिक प्रश्नको जवाफका साथै लिखित बयान बुझाएका छन् । लिखित बयानमा लेखकले मुलुक र लोकतन्त्रका लागि जीवन पर्यन्त राजनीतिमा होमिएका पार्टी, नेता र कार्यकर्तालाई लाञ्छित गर्ने, उनीहरुमाथि भौतिक आक्रमण गर्ने र सम्पत्ति नष्ट गर्ने काम क्षमायोग्य नभएको उल्लेख गरेका छन् ।
लेखकले स्थानहद र राहदानी रोक्का गरेको बिषयमा लिखित वा मौखिक जानकारी नदिएको भन्दै बिना कारण, बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संविधान एवं कानुनी व्यवस्था विपरीत भएको बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिने तयारी गरेको छ । ओलीले भने आयोगलाई बयान नदिने बताइरहेका छन् ।
भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानविन गर्न सरकारले असोज ५ गते जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ ।



Facebook Comments