
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख खालिदा जियाको निधन भएको छ । मंगलबार बिहान ६ बजे ८० वर्षको उमेरमा उनको निधन भएको हो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । उनका परिवारजन र पार्टी नेताहरूले निधनको पुष्टि गरेका छन् ।
खालिदा जिया विगत केही वर्षदेखि फोक्सोको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, गठिया र आँखाको समस्यासँग लडिरहेकी थिइन् ।
खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुई पटक बंगलादेशकी प्रधानमन्त्री भएकी थिइन् । उनी पूर्वराष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन् ।
उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए । उनी यसै महिना बंगलादेश फर्किएका छन् । उनका कान्छा छोरा अराफात रहमानको सन् २०१५ मा हृदयघातका कारण निधन भएको थियो ।
खालिदा जियालाई ८ फेब्रुअरी २०१८ मा ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्टको नाममा सरकारी पैसा दुरुपयोग गरेको अभियोगमा पाँच वर्षको कैद सजाय सुनाएको थियो । खालिदाका छोरा तारिक रहमान र अन्य पाँच अभियुक्तलाई पनि १० वर्ष कठोर कारावासको सजाय दिइएको थियो ।
जियाले यो फैसलाविरुद्ध उच्च अदालतमा अपिल दायर गरेकी थिइन् । अदालतले ३० अक्टोबर २०१८ मा सुनुवाइ गर्दै सजायलाई १० वर्ष बढाएको थियो ।
त्यसपछि खालिदा जियाले सजायविरुद्ध ‘लीभ–टु–अपिल’ अर्थात् सर्वोच्च अदालतमा चुनौती दिने अपिल गरेकी थिइन् । कानुनी प्रक्रियाका कारण यसमा पाँच वर्षसम्म ढिलाइ हुँदै आएको थियो ।



Facebook Comments