काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनअघि नियमित वा विशेष दुवै महाधिवेशन नगर्ने स्पष्ट सन्देश दिएका छन् । तर महामन्त्री गगन थापा अब विशेष महाधिवेशन गर्ने प्रयासमा लागेका छन् । यसअघि केन्द्रिय समिति बैठकले यही पुषको अन्तिममा केन्द्रको महाधिवेशन गर्ने निर्णय गरेको थियो । आजदेखि वडाको अधिवेशन गर्ने गरी मिति तय भएको थियो । तर वडा अधिवेशन हुनै सकेन । 

कांग्रेसका सभापति देउवा र उनी पक्षधर नेताहरुले अधिवेशन नचाहेका कारण गगन थापा पक्षधरको प्रयास सफल हुन नसकेको हो । नियमित माहाधिवेशन टरेपछि थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अघि बढेको बताएका छन् ।

राष्ट्रिय एकता र मेलमिलापको दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दैं उनले विशेष महाधिवेशनको पक्षमा आफूलाई साथ दिन आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु ।’

उनले भनेका छन्, ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ । अनि एकता के बाट आउँछ ? निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन – भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र त्यो एकताको उद्भव हुन्छ । त्यो भनेको आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै हो । पौष मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारीमात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको छ ।’

गगनले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु नै आजको लागि प्रत्येक कांग्रेस कार्यकर्ताको युगानुकूल जिम्मेवारी रहेको उल्लेख गरेका छन् ।

अरु दल निर्वाचनमा होमिदा कांग्रेस भने आन्तरिक किचलोमा फसेको छ । देउवाकै नेतृत्वमा निर्वाचनमा जाँदा जनमत खस्किने निष्कर्ष गगन पक्षधरको छ । तर महाधिवेशन भयो भने गगन नै सभापतिमा निर्वाचित हुन्छन् भन्ने त्रास देउवा पक्षधरलाई छ ।

अहिलेको अवस्थामा कांग्रेसलाई बलियो बनाउन गगनको एजेण्डा ठीक देखिए पनि पार्टीभन्दा पनि व्यक्तिको स्वार्थमा संस्थापन पक्ष लाग्दा कांग्रेस संकटपूर्ण अवस्थामा पुगेको टिप्पणी हुने गरेका छ ।