काठमाडौं । अध्यागमन बिभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ । बिभागले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्नुभएको हो ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू गरेको बिभागले जनाएको छ ।
उक्त सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले अध्यागमन सुधारको रणनीतिक योजना अन्तर्गत विदेशी नागरिकहरुको नेपाल बसाइको सूचना व्यवस्थापनलाई नजितामूखि बनाउन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए । उनले सूचना प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरूको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजी कार्यमा सहजीकरण गर्न सहयोग पुग्ने बताए ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटलमा अनिवार्य रुपमा उक्त प्रणाली लागू गर्ने र दुई महिनाभित्र देशका सवै सरोकारवाला निकायमा लागू गर्ने जानकारी दिए ।
यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत र बसाइँलाई प्रभावकारी बनाउने, आगन्तुकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने विश्वास लिइएको छ ।



Facebook Comments