काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न पठाएको छ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दुवै नेताको घरमा उच्छृङ्खल समूहले आगजनी गरेका थिए । शान्तिपूर्ण प्रदर्शनमा युवाहरुको ज्यान जानेगरी भएको घटनाबारे जाँचबुझ गरिरहेको आयोगले देउवा र प्रचण्डलाई बयानकै शैलीमा प्रश्न पठाएको हो । 

जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेपछि देउवा र प्रचण्डलाई सार्वजनिक सूचना प्रकाशित हुने चेतावनीपछि म्याद बुझेको खुलेको छ । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंसबारे जाँचबुझ गर्न गठन भएको आयोगले दुवै जनालाई आफ्नो धारणा राखिदिन आग्रह सहित पत्र पठाएको थियो ।

व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) सँगको समन्वयबाट पत्र र म्याद बुझाउने प्रयास भएकोमा दुवै नेताहरूले पत्र बुझ्न अस्वीकार गरेका थिए । कांग्रेस सभापति देउवाले आफू नै २४ भदौको आगजनीबाट पीडित भएको, घर जलेर नष्ट भएका कारणले अन्यत्र बस्नु परेको, अनि जेनजी आन्दोलनका बेला आफू राज्यको कुनै भूमिकामा पनि नरहेको भन्दै त्यस्तो अवस्थामा किन बयान दिने ? भनी प्रश्न गरेका थिए ।

त्यसैगरी प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, त्यतिबेला सत्तामा रहेकाहरुमाथि खबरदारी गरिरहेको तर उल्टै आफ्नो घरमा आगजनी भएको अवस्थामा के आधारमा बयान दिने भनी प्रश्न गरेर पत्र बुझेका थिएनन् ।

पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँदै पत्र लेख्ने तयारी गरिरहेको छ । शुक्रवार साँझसम्म ओलीलाई बयानमा उपस्थित हुन पत्राचार गरिने आयोगको तयारी छ ।  ओलीलाई उपत्यका छाड्न नपाउने र विदेश भ्रमणमा रोक लगाउने निर्णय कायमै छ । ओलीसँग केही दिनभित्रै बयान लिने तयारी आयोगले गरेको छ ।

आयोगले उपत्यका छाड्न र विदेश जान रोक लगाएको ५ जनाको स्थानहद आयोगले फुकुवा गरेको छ । तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणी दुवाडी, तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौँका तत्कालीन प्रजीअ छविलाल रिजालको स्थानहद आयोगले फुकुवा गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापाको पनि स्थानहद र विदेश भ्रमण फुकुवा गरिएको छ । जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्रका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीसँग बयान लिइसकेको छ ।