काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि करिब ४ करोड संख्यामा मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद भट्टराईले मतपत्र छाप्ने संख्याबारे जानकारी गराएका हुन् । 

भट्टराईका अनुसार छापिएपछि मतपत्र फागुन १० गतेसम्म सम्बन्धित सबै जिल्लामा पठाइसक्ने लक्ष्य लिइएको छ । मतपत्रको साइज अझै अन्तिम टुङ्गोमा नपुगेकाले छपाइ खर्च कति लाग्छ भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने आयोगले जनाएको छ ।

फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाता नामावली संकलन तथा अद्यावधिक गरिएको छ । समानुपातिकतर्फ कुल मतदाताको १० प्रतिशत अतिरिक्त मतपत्र छाप्ने आयोगको नीति छ ।

समानुपातिकको मतपत्र छाप्ने काम २० देखि ३० दिन लाग्ने अनुमान छ ।

समानुपातिकको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु हुनेछ । प्रत्यक्षतर्फको मतपत्र हरेक निर्वाचन क्षेत्र अनुुसार फरक फरक हुनेछ । समानुपातिकतर्फको मतपत्र सेतो कागजमा कालो मसी प्रयोग गरी छापिने निर्णय भएको छ भने प्रत्यक्षतर्फको मतपत्रको रङ्ग र ढाँचाबारे निर्णय हुन बाँकी रहेको छ ।