काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको नाम र व्यक्तिमा चर्को आलोचना भएपछि रास्वपाले नयाँ रणनीति लिएको छ । सामानुपातिक उम्मेदवारको बन्द सूचि बाहिरिएसँगै केही व्यक्तिको नाम विवादमा परेको थिए । त्यस्ता उम्मेदवारलाई रास्वपाले नाम फिर्ता लिन आग्रह गरेसँगै केहीले नाम फिर्ताको घोषणा गरेका हुन् ।

राजनीतिक दलले आफै नाम हटाउने र नयाँ राख्ने गर्न नमिल्ने कानुनका कारण सम्बन्धित उम्मेदवारलाई नै पछि हट्न रास्वपाले सुझाएको बुझिएको छ । जसअनुसार नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् ।

उनले फेसबुकमा लेखेको छन्–‘यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु, ‘साथै, जनता र पार्टीका साथीहरूको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य साथीहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न विनम्र आग्रह गर्दछु ।’

उनले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्ने पनि उल्लेख गरेका छन् । ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ– प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ–उठ्ने नै हो,’ कलाकार शाहले भनेका छन्, ‘हामी काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौं । देशभन्दा ठूलो केही हुँदैन ।’

शाहले राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत् जनतासँगै उभिएर उम्मेदवारी दिने चाहना स्पष्ट रूपमा भने पनि रास्वपाले देशव्यापी चुनावी अभियान आवश्यककता महसुस गरेर समानुपातिक प्रणालीमै अघि बढ्नुपर्ने भनेपछि उम्मेदवारी दर्ता गरेको प्रष्टीकरण पनि दिएका छन् ।

यसअघि २०७९ को निर्वाचनबाट आसिफका दाइ असिम शाह समानुपातिकमार्फत सांसद बनेका थिए । पहिला दाइ अहिले भाइ भन्दै विरोध भएको थियो ।

यसअघि गायिका डा. त्रिशला गुरूङले पनि समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएकी थिइन् । शुक्रबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै उनले उक्त घोषणा गरेकी हुन्। ’गहन आत्ममूल्यांकनपश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु,’ उनले लेखेकी छन् । 

त्रिशलाले अगाडि लेखेकी छन्, ‘यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पु¥याउने मेरो दृढ संकल्प हो।’

आफूमाथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने उनले बताएकी छन्। राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पु¥याइरहनेछु,’ उनले लेखेकी छन् ।

त्रिशलालाई उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवार सिफारिस गरेको थियो।

‘तर, त्यसपछि आएका समाचारहरू, जनताबाट व्यक्त प्रतिक्रियाहरू र रास्वपाका साथीहरूको भावनाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो । सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो,’ शाहको भनाइ छ, ‘देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैं गर्न तयार छु । तर, जनता र पार्टीका साथीहरूको भावनामा चोट पु¥याएर समानुपातिक सूचीमार्फत् सांसद बन्ने बाटो म रोज्न सक्दिनँ ।’