
अमेरिकाले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य आक्रमण गरेपछि त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्युयोर्क पुर्याएको छ । पक्राउ गरेपछि अमेरिकी सेनाले मादुरोको आँखामा पट्टी बाँधेको थियो भने हतकडी पनि लगाइएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो र उनकी पत्नीलाई पक्राउ गर्न अमेरिकी सेना परिचालन गरेका थिए । पक्राउपछि ट्रम्पले कानून कार्यान्वयन निकायसँगको सहकार्यमा गरिएको सैन्य अपरेसनमार्फत नियन्त्रणमा लिइएको बताएका छन् ।
मादुरो दम्पत्तिलाई न्यूयोर्कमा लागू हुने लागूऔषध तथा हतियारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको छ । पक्राउ गर्नुअघि शनिबार बिहान सबेरै राजधानी काराकाससहित विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएको थियो । विशेषगरी सैन्य अड्डाहरू आसपास विस्फोट भएको थियो ।

मादुरो पक्राउ परेपछि भेनेजुएलाको सरकारले सशस्त्र फौज परिचालन गर्दै राष्ट्रिय आपतकाल घोषणा गरेको थियो । उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी भूमिका निर्वाह गरेकी छिन् ।
किन पक्राउ परे मादुरो ?
अमेरिका र भेनेजुएलाबीचको तनाव चर्किँदै आएको बेला मादुरोको नियन्त्रण भएको हो । हालै अमेरिकाले क्यारेबियन सागर क्षेत्रमा लागुऔषध ओसारपसारमा प्रयोग भइरहेका दाबी गरिएका डुंगामाथि आक्रमण गरेको थियो ।
अमेरिकाले मादुरोलाई प्रत्यक्ष रूपमा लागुऔषध तस्करीमा संलग्न रहेको र वैध राष्ट्रपति नभएको आरोप लगाउँदै आएको छ । यसका विपरीत, मादुरोले अमेरिकाले डर देखाएर भेनेजुएलाको तेल स्रोत कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भेनेजुएलामा “सुरक्षित, उपयुक्त र न्यायोचित सत्ता हस्तान्तरण नहुँदासम्म अमेरिका स्वयंले शासन चलाउने” अभिव्यक्ति दिएका छन्। उनले अमेरिकी तेल कम्पनीहरू पनि भेनेजुएलामा प्रवेश गर्ने बताएका छन् ।
मादुरोलाई अमेरिकी सेनाको शीर्ष आतंकवादविरोधी इकाइ डेल्टा फोर्सले नियन्त्रणमा लिएको हो । शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै उपस्थित हुँदै अमेरिकी संयुक्त सेनाका प्रमुख (चेयरम्यान अफ जोइन्ट चिफ्स अफ स्टाफ) जनरल ड्यान केनले ‘अपरेसन एब्सोल्युट रिजोल्भ’ महिनौँको तयारी र अभ्यासपछि सञ्चालन गरिएको बताएका छन्। उनका अनुसार अनुकूल मौसमको प्रतीक्षासमेत गरिएको थियो ।
यस अपरेसनमा राजधानी काराकासमा उद्धार टोली प्रवेश गराउन १५० भन्दा बढी विमान प्रयोग गरिएको थियो ।
टोलीले स्थानीय समयअनुसार राति २ः०१ बजे (ग्रिनिच समयअनुसार ०६ः०१) मादुरोको निवासमा प्रवेश गरेको थियो। राष्ट्रपति ट्रम्पका अनुसार उक्त घर “घरभन्दा बढी किल्लाजस्तै” थियो। अपरेसनको क्रममा अमेरिकाले काराकासको बत्तीसमेत बन्द गरिदिएको थियो ।
ट्रम्पले मादुरो स्टिलले सुरक्षित बनाइएको सुरक्षित स्थानमा प्रवेश गर्न खोजे पनि ढोका बन्द गर्न नसकेको दाबी गरेका छन् । उनका अनुसार उक्त अपरेसनमा कुनै पनि अमेरिकी सैनिकको मृत्यु भएन, र केही मात्रामा घाइते भएका थिए । ट्रम्पले आफूले उक्त अपरेसन प्रत्यक्ष रूपमा हेरेको पनि बताएका छन् ।
मादुरो र उनकी पत्नीलाई पहिलो चरणमा जहाज र त्यसपछि विमानमार्फत अमेरिकामा लगिएको थियो । उक्त विमान न्युयोर्क राज्यको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको थियो, जुन म्यानह्याटनबाट करिब ६० माइल (९७ किलोमिटर) उत्तरमा पर्छ ।
त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर, संघीय कारागारमा सारिएको जनाइएको छ ।
मादुरो पक्राउ परेको विरोधमा नेपालका सबैजसो कम्युनिष्ट दल र नेताहरुले अमेरिकाको चर्को विरोध गरेका छन् ।



Facebook Comments