
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्व चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ। निर्वाचनमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रसम्बद्ध व्यवसायीहरूबीच गठबन्धन बनेको छ। गठबन्धनका तर्फबाट लक्ष्मण पौडेल ‘एन्ड्रयु’ अध्यक्षका उम्मेदवार बनेका छन्।
उक्त समूहले पुस २६ गते शनिबार घोषणासभा आयोजना गर्ने तयारी गरेको छ। पौडेल प्यानलमा उपाध्यक्षमा बासुदेव दाहाल र पुष्पराज भट्टराई तय भएका छन् भने एक उपाध्यक्षको घोषणा हुन बाँकी छ। महासचिवमा नवराज केसी, सचिवमा एलबी गोले तामाङ र भुपाल केसी उम्मेदवार बनेका छन्। कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा एसपी भट्टराई उम्मेदवार रहनेछन्। बाँकी पदाधिकारी तथा सदस्यहरूको नाम टुंग्याउने प्रक्रिया जारी रहेको बताइएको छ।
अध्यक्षका उम्मेदवार पौडेल कांग्रेसनिकट हुन् भने उपाध्यक्षका उम्मेदवार दाहाल माओवादी केन्द्रनिकट मानिन्छन्।
यता, पौडेल प्यानललाई चुनौती दिन नेकपा अन्तर्गतकै पूर्व समाजवादी समूहसम्बद्ध व्यवसायीहरूले अलग्गै गठबन्धन निर्माण गरेका छन्। ईक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डे पक्षधर गठबन्धनबाट दीपकराज भुसाल अध्यक्षका उम्मेदवार बनेका छन्। उपाध्यक्षमा रत्न भट्टराई र विकल्प पोखरेल, महासचिवमा भवनाथ उपाध्याय (हुमागाईं) तथा कोषाध्यक्षमा उमा खड्का उम्मेदवार छन्।
भुसाल समूहले अध्यक्ष पदको उम्मेदवारीसँगै २६ बुँदे एजेन्डा सार्वजनिक गरेको छ। शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र सशक्त बनाउने साझा अभियान आफ्नो टिमको मुख्य लक्ष्य रहेको भुसालले बताएका छन्। सदस्य सेवा, व्यवसायिक प्रतिष्ठा, नेतृत्व क्षमता र संस्थागत स्थिरतालाई प्राथमिक एजेन्डा बनाइएको उनको भनाइ छ।
उनका अनुसार आफ्नो नेतृत्वमा ईक्यानका करिब ७ सय सदस्यलाई विश्वसनीय र गरिमामय बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा संस्थाको प्लेटफर्म स्थापित गर्ने लक्ष्य राखिएको छ।



Facebook Comments