
काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट नेकपा एमालेले ईश्वर पोखरेललाई उम्मेदवारका लागि सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा २०५६ सालदेखि चुनाव लड्दै आएका पोखरेललाई यसपटक पनि सिफारिस गरिएको छ । तर पोखरेलले भने उम्मेदवार बन्नेबारे निर्णय गरिसकेका छैनन् ।
साबिक क्षेत्र नम्बर ३ रहेको बेला निर्वाचित भएदेखि पोखरेल सोही क्षेत्रबाट चुनाव लड्दै आएका छन् । यो क्षेत्रबाट उनले दुईपटक जित र तीनपटक हार व्यहोरेका छन् । यसपटक उम्मेदवार बन्नेबारे उनले रुची देखाएका छैनन् ।
पोखरेलले पहिले मुख्य नेतृत्व (अध्यक्ष केपी शर्मा ओली)सँग कुरा गरेपछि मात्र के गर्ने भन्ने निर्णयमा पुग्ने बताएका छन् । यो क्षेत्रबाट पोखरेल नउठे पूर्व प्रधानमन्त्री तथा एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीकी बुहारी शान्ति अधिकारी बस्नेत, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, केन्द्रीय सदस्य नारायण सिलवाललगायत दाबेदार छन् ।
काठमाडौँ जिल्ला कमिटीले सबै क्षेत्रीय कमिटीलाई विस्तारित भेलाबाट उम्मेदवारको नाम सिफारिस गर्न भनेको थियो । क्षेत्रीय कमिटीका सदस्यमात्र भएर सम्बन्धित नगर कमिटीका पदाधिकारी र सदस्य तथा वडा कमिटीका पदाधिकारीसहितको भेलाबाट नामहरु प्रस्ताव गरिएको छ ।



Facebook Comments