काठमाडौं । भदौ २३ र २४ गतेको घटनामा गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद फुकुवा गरेको छ । आइतबार मात्रै आयोगले गुन्डुस्थित ओली निवासमै पुगेर उनको बयान लिएको थियो । बयान सकिएपछि स्थानहद फुकुवा गरिएको आयोगका सदस्य विज्ञानराज शर्माले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । बयान अघि जाँचबुझ आयोगमाथि प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री ओली सिंहदरबारमापुगेर बयान नदिने भन्दै आएका थिए । आयोग भने जसरी पनि बयान लिने अडानमा थियो । दुवै पक्षको अडानका बीचमा मध्यमार्गी बाटोमा आयोगले लिखित पेस गरे पनि स्वीकार गर्ने संकेत पठाएको थियो । ओलीले पनि आफू लिखित रुपमा पेस गर्न भनेतयार रहेको जवाफ पठाएका थिए । त्यसपछि आयोगको टोली आइतबार पत्र लिएर पुगेको थियो । ओलीको बयान लिएसँगै आयोगले उनीमाथि लगाइएको बन्देज फुकुवाको निर्णय गरेको हो ।

जाँचबुझ आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गरेर स्थानहदको औचित्य सकिएको जनाएको छ । आयोगका प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछ लगायतका बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाइने निर्णयको समाप्त भएकाले फुकुवा गरिदिएको छ ।’

आयोगले गत असोज १२ मा अनुसन्धानका लागि भनेर पूर्व प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । त्यस्तै, आयोगको स्वीकृति विना काठमाडौँ उपत्यका छाड्न पनि नपाउने निर्णय गरेको थियो ।