
काठमाडौं । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई कल्याणकारी कार्यक्रम सञ्चालनका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्
बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरेको छ। त्यसैगरी, नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र तथा नेपाल र इजरायल सरकारबिच हुने श्रम सम्झौतालाई बैठकले स्वीकृत गरेको छ। ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण मानिएको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ लाई पनि सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रवक्ता खरेलका अनुसार बैठकले वन तेस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गरेको छ। यसका साथै नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठक निर्णयहरु :
१) राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ।
२) समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।
३) जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
४) नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
५) नेपाल सरकार र इजरायल सरकार बीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ।
६) पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
७) वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
८) नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।



Facebook Comments