काठमाडौँ ।नेपाली कांग्रेसभित्र चर्किँदै गएको विशेष महाधिवेशनको विवादबीच इतर समूहका नेता डा. शेखर कोइरालाले समय र प्रक्रियामाथि जोड दिँदै मध्यमार्गी भूमिका खेल्ने संकेत दिएका छन् । उनले विशेष महाधिवेशन सहमतिको आधारमा केन्द्रीय समितिबाटै आह्वान हुनुपर्ने धारणा राख्दै माघ ६ गतेपछि मात्रै उपयुक्त हुने तर्क अघि सारेका छन् ।

डा. कोइरालाको यो धारणा स्पष्ट रुपमा न त महामन्त्री गगन थापा–विश्वप्रकाश शर्मा पक्षसँग ठ्याक्कै मिल्छ, न त सभापति शेरबहादुर देउवा पक्षको कठोर अस्वीकृतिसँग । समानुपातिक उम्मेदवार टुंग्याउने संवेदनशील चरणमा महाधिवेशनको मिति घोषणा गर्दा पार्टी झन् विभाजित हुने खतरा देखाउँदै उनले समय व्यवस्थापनलाई प्राथमिकता दिएका हुन् ।

संस्थापन पक्षका ३० केन्द्रीय सदस्यसँगको भेट र त्यसमा पुष्पा भुसालसहितका नेताहरूको ‘मध्यमार्गी विकल्प’ खोज्ने पहलले पार्टीभित्र असन्तुष्टि दुवै पक्षमा फैलिएको संकेत गर्छ । यसले शेखरलाई सम्भावित सेतु (ब्रिज) नेताको भूमिकामा उभ्याएको छ । डा. कोइरालाले भने, अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुङ्ग्याउनु पर्नेछ । यसकारण विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बेलाउँदा उचित हुने बताए । उनका अनुसार त्यो बेलासम्म राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।

तर समस्या यहीं छ—शेखरले छलफललाई तीव्रता दिए पनि अझै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् । निर्णायक क्षणमा उनको मौनता रणनीति हो कि अन्योल, त्यो स्पष्ट छैन । आगामी दिनमा उनले कुन दिशामा नेतृत्व लिन्छन् भन्ने कुराले कांग्रेसभित्रको शक्ति सन्तुलन र विवादको समाधान दुवैलाई गहिरो असर पार्ने देखिन्छ ।

भेटमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला सङ्ग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी, आङगेलु शेर्पासहितका नेताहरू थिए ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले पुष २७ गतेदेखि विशेष महाधिवेशन गर्ने मिति सार्वजनिक गरेर तयारी गरिरहेका छन् । तर सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरु कुनै हालतमा विशेष महाधिवेशन हुन नदिने पक्षमा छन् ।

नेता कोइरालाले भने स्पष्ट धारणा सार्वजनिक गर्न सकेका छैनन् । छलफललाई भने उनले तीब्रता दिएका छन् ।