
काठमाडौं । हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता रास्वपाको गतिविधिमा संलग्न भइरहेका छन् । सञ्चारमन्त्री जगदीश खरेलले पनि चुनाव लड्ने चाहना राखेर रवि, बालेन र कुलमानको एकतालाई अपनत्व लिएका थिए । घिसिङ अहिले रास्वपामा सक्रिय मात्रै होइन, वरिष्ठ उपाध्यक्ष भैसकेका छन् ।
अहिलेको सरकार दलीय नभएकाले अर्थात गैरदलीय भएकाले मन्त्रीहरु कुनै दलमा आवघ हुनुलाई नैतिकताका आधारमा राम्रो मानिदैन । फेरी यही सरकार प्रतिनिधिसभाको निर्वाचनको तयारीमा छ । त्यसैले पनि मन्त्री कुनै दलमा आवद्ध हुनु वा आफै उम्मेदवार बन्नु उचित मानिदैन ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलमा आबद्ध भएर गतिविधिमा लागेका तथा चुनाव लड्ने तयारीमा रहेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कार्कीले अनौपचारिक छलफल गर्दै दलीय गविधिधिमा लागिसकेका मन्त्रीले राजीनामा दिएर सहयोग गर्न भनेकी हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार सार्वजनिकरुपमा प्रश्न उठेको र सरकार गैरदलीय भएकाले परिस्थिति बुझिदिन आग्रह प्रधानमन्त्रीको थियो ।
वर्तमान सरकार दलीय सरकार होइन, बरु संक्रमणकालीन र गैरदलीय स्वरूपको सरकार हो । यस्तो अवस्थामा मन्त्रीहरूले कुनै दलको गतिविधिमा खुलेर संलग्न हुनु वा भविष्यका लागि चुनावी रणनीति बनाउन थाल्नु राजनीतिक नैतिकतासँग मेल खाँदैन । अझ यही सरकारले प्रतिनिधिसभा निर्वाचनको तयारी गरिरहेको सन्दर्भमा मन्त्रीहरू स्वयं उम्मेदवार बन्ने वा दल विशेषसँग नजिकिनु सरकारको निष्पक्षतामाथि प्रत्यक्ष प्रश्न उठाउने विषय हो ।
सरकारको पहिलो दायित्व स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउनु हो । मन्त्रीहरूको राजनीतिक झुकाव र सक्रियताले त्यस प्रक्रियामाथि अविश्वास पैदा गर्ने खतरा रहन्छ । यदि मन्त्रीहरूलाई दलगत राजनीति नै गर्नुछ भने पदबाट अलग भएर मैदानमा उत्रनु नै नैतिक र लोकतान्त्रिक बाटो हुनेछ । नत्र गैरदलीय सरकारको अवधारणा स्वयं औपचारिक नारा मात्र बन्ने जोखिम बढ्दै जानेछ ।



Facebook Comments