काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गरिएका बिरामीको रकम लामो समयदेखि नपाउँदा गम्भीर आर्थिक संकट झेल्नुपरेको जनाएको छ ।
अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई पठाएको पत्र अनुसार आर्थिक वर्ष २०७६ सालदेखि हालसम्म बीमाबाट हुने दाबी रकम निरन्तर अड्किँदै आएको छ । अस्पतालका अनुसार मासिक औसत ४–५ करोड रुपैयाँ बराबरको बीमा दाबी हुने गरे पनि हालसम्म महिनौँदेखि २ करोड रुपैयाँसम्मको रकम असुली हुन नसकेको अवस्था छ ।
विज्ञप्तिमा अस्पतालले सरकारी संस्था भए पनि मासिक १२–१५ करोड रुपैयाँ आफ्नै स्रोतबाट तलब–भत्ता, औषधि तथा स्वास्थ्य सामग्री खरिद लगायतका खर्च व्यहोर्नु परेको उल्लेख छ । तर बीमाबाट उपचार गरिएका बिरामीको खर्च भुक्तानी नहुँदा अस्पतालको आन्तरिक आम्दानीमा ठूलो चाप परेको जनाएको छ ।
भुक्तानी नआउँदा औषधि तथा स्वास्थ्य सामग्री आपूर्ति गर्ने आपूर्तिकर्तालाई ४–५ महिनासम्म बिल भुक्तानी गर्न नसकिएको, जसका कारण आवश्यक सामग्री समयमै उपलब्ध गराउन आपूर्तिकर्ता असमर्थ हुँदै गएको अस्पतालको भनाइ छ । यसले दैनिक स्वास्थ्य सेवा प्रवाहमै असर पर्न थालेको चेतावनी पनि दिइएको छ ।
अस्पतालका अनुसार पटक–पटक पत्राचार र जानकारी गराउँदा पनि हालसम्म सबै दाबी रकम प्राप्त नभएको र बीमाबाट उपचार गरिने बिरामीको संख्या तथा चाप बढ्दै जाँदा दैनिक २० देखि २५ लाख रुपैयाँसम्म खर्च बढिरहेको अवस्था छ ।
यस अवस्थालाई मध्यनजर गर्दै त्रिवि शिक्षण अस्पतालले नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई तत्काल पहल गरी बाँकी बीमा रकम उपलब्ध गराउन आग्रह गरेको छ । अन्यथा अस्पताल र सरकारबीचको सम्झौता अनुसार तोकिएको मितिभित्र भुक्तानी नआए स्वास्थ्य बीमाबाट हुने उपचार सेवामा असर पर्न सक्ने संकेत पनि अस्पतालले गरेको छ ।



Facebook Comments