काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र दुई जना महामन्त्रीको अवमूल्यन गरेको आरोप लगाएका छन् । 
राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा एमालेसँगको तालमेलर उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै थापाले मनपरी गरेको आरोप लगाएका हुन् । उनले एमालेसँग भएको तालमेलको स्वामित्व आफूहरूले नलिने बताएका छन् ।

कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी बैठकमा छलफल नै नगरी तालमेलको निर्णय गराइएको भन्दै आपत्ति जनाएका हुन् ।

उम्मेदवारी छनोटको विषयमा पनि उनले विमति जनाए । उनले उम्मेदवारी छनोट गर्न बैठक बस्नुभन्दा अघि नै उम्मेदवारहरू मनोनयन पत्र बोकेर दर्ता गर्न गइसकेको बताए ।

उनले भने, ‘महामन्त्रीहरूलाई हेप्ने, पेल्ने त चलिरहेको छ । यसबारे हाम्रो प्रतिक्रिया होला । संसदीय बोर्ड, केन्द्रीय समितिलाई समेत हेपियो, यो भन्दा अगाडि यस्तो हुँदैनथ्यो । योजस्तो मानमर्दन यसअघि हुँदैनथ्यो ।’

उनले उम्मेदवार छनोट प्रक्रियामा आफूले फरक मत राखेको बताए । आफू र विश्वप्रकाश शर्मालाई पार्टीभित्रको साँघुरो  घेराबाट पेलिए पनि कार्यकर्तामाझ गएर देखाइदिने गगनको चेतावनी छ ।

दुई जना महामन्त्रीको अग्रसरतामा सभापति शेरबहादुर देउवाको अनुमति विपरित पुष २७ गतेदेखि विशेष महाधिवेशन हुँदैछ । विधानअनुसार ४० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे पनि देउवा र उनी पक्षधर नेताहरुले बेवास्ता गरेका छन् । तर गगन र विश्वले भने विधानमा भएको व्यवस्था पालना गर्नुपर्ने भन्दै विशेष महाधिवेशन गर्न लागेका छन् ।