काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाइसकेका छन् । राजीनामापछि घिसिङले सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

जेन–जी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । प्रधानमन्त्री कार्कीले उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, साथै शहरी विकास मन्त्रालयको जिम्मेवारी सुम्पिएकी थिइन् ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक रहिसकेका घिसिङले आफ्नै संरक्षकत्वमा ‘उज्यालो नेपाल’ पार्टी दर्ता गराएका थिए । पछि उनले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमतिसहित एकता गरेका थिए ।

गैरदलीय सरकारका मन्त्री हुँदाहुँदै पनि घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको आरोप लागेपछि उनको राजीनामाको माग उठ्दै आएको थियो । सामाजिक सञ्जाल तथा जनस्तरमा मन्त्रीहरूको राजनीतिक संलग्नतामाथि प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले घिसिङलाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।