
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एस.टि.एफ.)ले आगामी निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टीले वर्तमान प्रतिनिधिसभा निर्वाचनलाई दलाल–प्रतिगामी शक्तिको अभ्यास भन्दै यसले देश र जनताको हित नगर्ने निष्कर्ष निकालेको जनाएको छ ।
केन्द्रीय समितिका तर्फबाट जारी विज्ञप्तिमा देश अमेरिकी सीआईए र भारतीय ‘र’को प्रभाव तथा नियन्त्रणमा जान सक्ने खतरा बढेको उल्लेख गरिएको छ । यस्तो अवस्थामा गरिने निर्वाचनले जनताको समस्या समाधान नगर्ने र देशलाई झनै संकटतर्फ धकेल्ने पार्टीको दाबी छ ।
विज्ञप्तिमा अहिलेको राज्यसत्ता ‘तानाशाही दलाल पूँजीवादी’ शक्तिको कब्जामा रहेको आरोप लगाउँदै यस्तै परिस्थितिमा हुने निर्वाचन जनताका लागि फाइदाजनक नहुने उल्लेख छ । पार्टीले वर्तमान सरकारलाई राजीनामा दिएर निर्वाचन स्थगन गर्न, जनताको समस्या समाधानमा केन्द्रित सर्वदलीय सरकार गठन गर्न र कार्यकारी राष्ट्रपति निर्वाचनको समय तोक्नुपर्ने माग अघि सारेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एस.टि.एफ.)ले आगामी फागुन २९ गते हुने निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्न आम जनता समक्ष आह्वान गर्दै देश जोगाउने उद्देश्यसहित संघर्ष र लडाइँका विभिन्न कार्यक्रम अगाडि बढाइने जनाएको छ ।
विज्ञप्तिमा पार्टी महासचिवले हस्ताक्षर गरेका छन् ।



Facebook Comments