काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन बज भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । मध्याह्न १२ बजे उद्घाटन हुने महाधिवेशनका लागि अहिले धमाधम प्रतिनिधिहरुको नाम दर्ताको काम भइरहेको छ ।
महाधिवेशनको उद्घाटनअघि नै प्रतिनिधिहरु महाधिवेशन स्थल पुगेर नाम दर्ता गरेर कार्ड लिइरहेका छन् । प्रतिनिधिका साथै अहिले कांग्रेस समर्थकहरु पनि कार्यक्रम स्थल पुगेका छन् ।
कार्यक्रममा मञ्च व्यवस्थापनको काम भइरहेको छ । कार्यक्रम स्थलमा कांग्रेसले आफ्ना पूराना नेताहरुका प्रतिमा लहरै राखेर सजाएको छ ।
कांग्रेस नेताहरू बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसा कोइराला र सुशील कोइरालाका प्रतिमा राखिएको छ ।
सोमबारसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे गर्ने तयारी छ । यसअघि काठमाडौं उपत्यकाका विभिन् ६ ठाउँबाट जुलुस निकालिने कांग्रेसले जनाएको छ ।
विशेष महाधिवेशन काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन गर्ने तय भएको छ । आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । बन्द सत्रको सभापतित्व भने जेष्ठ सदस्यले गर्नेछन् ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका हुन् । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनले पार्टी संगठन अरु मजबुत बन्ने बताएका छन् । उनीहरुले संयुक्त अपिल जारी गर्दै यस्तो बताएका हुन् ।उनीहरुले कांग्रेसको विधानमा रा १७ (२) मा विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको दोहो¥याएका छन् । उनीहरूले संयुक्त विज्ञप्तिमार्फत विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिलाई आह्वान गरेका छन् ।
महाधिवेशन प्रतिनिधिहरूले ‘बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिनु अपरिहार्य रहेको’ भनी विशेष कारणसहित निवेदन दर्ता गरेको विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको जिम्मेवारीको विषय भएको उनीहरुको भनाइ छ ।
महामन्त्रीद्वय थापा र शर्माले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरु कटिबद्ध एवम् प्रतिबद्ध रहेकोसमेत उल्लेख गरेका छन् । असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । महाधिवेशनलाई पार्टीको संस्थापन पक्षले असहमति जनाएको बताइएको छ ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
त्यसैगरी, महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेको छैन ।



Facebook Comments