भारतको हिमाचल प्रदेशको सोलान जिल्लाको अर्की क्षेत्रमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२, टाकुरा निवासी दुई परिवारका ९ जनाको मृत्यु भएको छ । राति सुतेको अवस्थामा आगलागी भई पसलमा रहेका सिलिन्डर पड्किँदा धनबहादुर विक, उनकी श्रीमती कविता विक, छोराछोरीसहित परिवारका सदस्य र काशिराम विक परिवारका सदस्य गरी ९ जनाको घटनास्थलमै मृत्यु भएको आफन्त प्रेम विकले बताए ।

मृतक सबै अढाई वर्षअघि आर्थिक अभावका कारण मजदुरीका लागि भारत गएका थिए । सिलिन्डर विस्फोटका कारण शवहरू चिन्नसमेत नसकिने भएपछि सुरक्षाकर्मीले संकलनमा कठिनाइ भएको बताइएको छ । केही नजिकका परिवार भागेर ज्यान जोगाउन सफल भएका छन् । घटनापछि टाकुरा गाउँ शोकमा डुबेको छ र वडाले शोक बिदाको निर्णय गरेको वडाध्यक्ष मेकबहादुर बुढाथोकीले विज्ञप्तिमार्फत जानकारी दिए ।

घरको आर्थिक अवस्था दयनीय भएको र दुई छाक खर्च जुटाउन समस्या भएपछि मृतकका परिवारसहित टाकुरा बस्तीका केही परिवार अढाई वर्षअघि भारतको हिमाचल गएर मजदुरी गर्दै आएको उनको भनाइ छ । शव संकलनको काम भइरहेकाले उतै दाहसंस्कार गर्ने कि घरमै ल्याउने भन्ने विषयमा सिलोनको अर्कीमा रहेका स्थानीयसँग कुराकानी भइरहेको उनले जानकारी गराए ।