
काठमाडौं । विभिन्न राजनीतिक दलको समानुपातिक तर्फका १६४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार नाम फिर्ता लिएका उम्मेदवारको स्थानमा अन्य नाम पठाउन आयोगले सम्बन्धित दललाई आग्रह गरेको छ।
आयोग स्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७८ जना र जनता समाजवादी पार्टी (जसपा) का २१ जना गरी अधिकतम उम्मेदवारले नाम फिर्ता लिएका छन्। यी दुई दलबीच एकता भइसकेकाले लोसपाबाट परेका उम्मेदवार फिर्ता लिएर जसपाको सूचीमा समायोजन गरिएको बताइएको छ।
त्यसैगरी जनमत पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना, जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, माओवादी केन्द्रका ४ जना, राष्ट्र निर्माण दलका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
यस्तै उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २/२ जना, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक पार्टी र संयुक्त नागरिक पार्टीबाट १/१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
अब दलहरूले नयाँ नाम पठाएपछि निर्वाचन आयोगले माघ ४ गते समानुपातिक बन्दसूची प्रकाशित गर्नेछ। सो सूचीमाथि माघ ५ देखि १० सम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ। दाबी–विरोधको अध्ययन माघ ११ देखि १७ गतेसम्म हुनेछ भने आवश्यक परे माघ १९ गते सूचना प्रकाशित गरिनेछ। अन्तिम नामावली माघ २० गते सार्वजनिक गरिने कार्यतालिका आयोगले तय गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा २७५ सदस्यीय सभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्षतर्फबाट निर्वाचित हुनेछन्। प्रत्यक्षतर्फको मनोनयन आगामी माघ ६ गते दर्ता हुनेछ।



Facebook Comments