काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले मंगलबार कार्यतालिका सार्वजनिक गरेका हुन्।

कार्यतालिका अनुसार मध्यान्ह साढे १२ बजे पहिलो मतदाता नामावली प्रकाशित गरिनेछ भने त्यसउपर दाबी–विरोध तथा छलफलका लागि साढे १ बजेसम्म समय निर्धारण गरिएको छ। दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ। त्यसपछि साँझ पौने ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र राति ९ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने कार्यक्रम तोकिएको छ।

पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। यसअघि खम्बबहादुर खाती नेतृत्वको समिति विघटन गरेर केसीको नेतृत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन नेपाली कांग्रेस केन्द्रीय समितिका लागि हुनेछ।