
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधानका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बुधबार बिहान वार्ता गरेका छन्। तर छलफलबाट कुनै ठोस निष्कर्ष निस्किन नसकेपछि महामन्त्रीद्वय बैठकस्थलबाट बाहिरिएका छन्।
वार्ताक्रममा महामन्त्रीद्वयले देउवालाई पार्टी नेतृत्वमा ‘निष्क्रिय भूमिका लिन’ आग्रह गरे पनि देउवाले सो प्रस्तावमा स्पष्ट प्रतिक्रिया नदिएको बताइएको छ। देउवाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने तयारी भइरहेको र त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने संकेत दोहोर्याएका छन्।
संस्थापन पक्षका एक नेताका अनुसार देउवाले तीन महिनापछि हुने महाधिवेशनमै नेतृत्वबारे निर्णय गर्न सकिने भन्दै सहमतिको आग्रह गरेका थिए। उनले राष्ट्रियसभा र प्रतिनिधिसभाको प्रक्रियामा आफ्ना हस्ताक्षर भइसकेको उल्लेख गर्दै आवश्यक परे प्रत्यक्षतर्फको उम्मेदवारी प्रक्रिया कानुनसम्मत रूपमा मिलाउने विकल्पबारे छलफल गर्न सकिने बताएका थिए।
देउवाको प्रस्ताब सुनेपछि महामन्त्रीद्वयले आफ्ना साथीसँग थप परामर्श आवश्यक रहेको भन्दै छलफल सकिएको बताइएको छ। कांग्रेसभित्र विशेष महाधिवेशनपछि उत्पन्न विवाद समाधानका लागि पटक–पटक भएको संवाद अझै सहमतिमा नपुगेको हो।



Facebook Comments