काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध चलाइएका केही मुद्दा फिर्ताका लागि महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन् । रविविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरेको अभियोगमा अदालतमा मुद्धा विचाराधिन छ । यही मुद्धा फिर्ता लिन आग्रह गर्दै निवेदन दिएका हुन् । मुख्य मुद्धा सहकारी ठगी बढी सजाय माग गर्न नमिल्ने भएपछि राजनीतिक पूर्वाग्रहका आधारमा थप गम्भीर झुटो आरोप लगाइएको रविको बुझाई छ । 

हाल उनको निवेदन सहन्यायाधिवक्ताको तहमा अध्ययन र छलफलमा छ । त्यहाँबाट राय आएपछि नायव महान्यायाधिवक्ता हुँदै महान्यायाधिवक्तासमक्ष पेश हुनेछ । रवि लामिछानेमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवन लगायत पाँच जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा चलिरहेको छ । 

कास्की, रुपन्देही र काठमाडौंमा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसमेत जोडिएको छ । उनी केही साताअघि उच्च अदालत बुटवलको आदेशअनुसार धरौटी र बैंक जमानतमा रिहा भएका हुन् ।