गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । बिहीबार ललितपुरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले विशेष महाधिवशेनले गरेका निर्णयलगाएत बिषयमा निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले उम्मेदवार प्रयोजनका लागि आधिकारिक दस्तखत परिवर्तन गर्ने, समानुपातिक सूचीलाई संशोधन गर्ने, कानुनी र वैधानिक दायित्वहरू पूरा गर्न आयोगमा विवरण बुझाइने उल्लेख गरे । 

बैठकले सभापति गगन थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति गठन गरेको छ । त्यस्तै बैठकले निर्वाचनलाई केन्द्रीत गरेर उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै बदलिएको परिस्थितिमा बदलिएको कांग्रेस निर्माण गर्ने संकल्प गरेको छ । बैठक शुक्रबार पनि जारी रहने छ ।