
धेरै निर्माण आयोजना निर्माण कम्पनीको ढिलासुस्तीले समयमा सम्पन्न हुन नसक्ने, ठेक्का सम्झौता गरेर फरार हुने जस्ता समस्या धेरै सुनिने गरेको समयमा एक निर्माण व्यवसायी भने समयमै काम सम्पन्न गरेर सम्मानित भएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन समयमा नै सम्पन्न गरेर सगुन कन्स्ट्रक्सनका सञ्चालका सहदेव खड्का सम्मानित भएका हुन् ।
भरतपुर महानगरपालिकाले उनलाई सम्मान गरेको हो । प्रशासनिक भवन उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट निर्माण व्यवसायी खड्का सम्मानित भएका हुन् ।
सगुन कन्स्ट्रक्सनले चितवन क्षेत्रमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवन, नारायणगढ–गोन्द्राङ छ लेन सडक, दिव्यनगर खानेपानी, शारदानगर खानेपानी, भरतपुरको रिङ्गरोडको केही खण्ड, नारायणी तटबन्धनको केही खण्ड, भरतपुर सिटी हल, भण्डारा खानेपानी जस्ता योजनाको ठेक्का सम्झौता गरेको छ । यी मध्ये कतिपय काम सम्पन्न भईसकेका छन् भने केही भईरहेका छन् ।
भरतपुर महानगरपालिकाका सिनियर डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार चुनौतीपूर्ण कामको पनि जिम्मा लिने सगुन कन्स्ट्रक्सनले सबै योजना समयमा नै सम्पन्न गर्ने गरेको छ । सरकारी कामकै कारण कतिपय योजना समयमा सम्पन्न नभएपनि निर्माण व्यवसायीको तर्फबाट कुनै पनि योजना नरोकिएको उनले बताए ।
। महानगर प्रमुख रेनु दाहालले महानगरभित्रका धेरै ठूला पूर्वाधारहरु समयमा सम्पन्न गरेर खड्काले काममा सहजीकरण गरेको बताए । उनले भन्नुभयो “हामी आएपछिका धेरै योजना उहाँलाई परेको थियो, काम हुन्न कि भन्ने चिन्ता थियो, अधिकांश समयमा सकिएका छन् ।”
खड्काले सरकारले बजेट सुनिश्चितता गरेमा निर्माणको काममा कुनै ढिलाई नहुने बताउनुभयो । उहाँले भन्नुभयो “नाफा घाटाभन्दा पनि जिम्मामा लिएको काम समयमा नै सम्पन्न गर्नुपर्छ भन्ने सोचले हामीले काम गर्दछौं ।” कतिपय चुनौतीपूर्ण कामहरुमा आफूहरुलाई घाटा नै परेपनि बीचमै छाडेर नहिँड्ने गरेको भन्दै उहाँले आफूहरुका कारण
निर्माण नरोकिने बताउनुभयो । पर्याप्त जनशक्ति र उपकरणहरु भएकै कारण पनि आफूहरुलाई निर्माण कार्य गर्न सहज भएको उहाँको भनाई छ







Facebook Comments