काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिताका बिषयमा निर्वाचन आयोगले गरेको निर्णयबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । आइतबार कांग्रेस देउवा समूहका नेताहरु सर्वोच्च पुगेर गगन थापा समूहलाई आधिकारिकता दिने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्कालगाएतका तर्फबाट वारेस श्रवणकुमार श्रेष्ठले दायर गरेका हुन् । रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्चले जनाएको छ ।
निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो । रिट दर्तापछि कांग्रेस देउवा समूहका नेता पूर्ण बहादुर खड्काले पार्टीको संविधान अनुसार बनाइएको विधानको बिपरित निर्वाचन आयोगले आधिकारिताको निर्णय गरेको भन्दै त्यसको विरुद्धमा अदालत आउनुपरेको बताए ।
त्यस्तै कांग्रेस देउवा समूहका अर्का नेता मीन बहादुर विश्वकर्माले संविधान, विधान, ऐन केहि नहेरि निर्वाचन आयोगले एकपक्षीय ढंगले निर्णय गरेकाले अदालते आफुहरुलाई न्याय दिने विश्वास व्यक्त गरे । उनले षडयन्त्रपूर्ण ढंगले कांग्रेसलाई समाप्त गर्ने काम आयोगबाट भएकाले कानूनी र संवैधानिक हक सुनिश्चत गर्न माग गर्दै अदालत आएको बताए । विश्वकर्माले पार्टीको करिव ७८ प्रतिशत केन्द्रीय कार्यसमिति सदस्यका तर्फबाट संयुक्त रुपमा अदालतमा रिट दर्ता गरिएको जानकारी दिए ।
देउवापक्षले विशेष महाधिवेशन अवैधानिक बताउँदै कार्यसमितिलाई भंग गर्नुपर्ने पहिलो माग राखेका छन् । त्यस्तै फागुन २१ गते हुने निर्वाचनको लागि माघ ६ गते मनोनयन दर्ताको मिति तोकिएको छ । मंगलबार नै मनोनयन दर्ता भएकाले उम्मेदवारी चयन नै रोक्न माग गरेका छन् । यदी मनोनयन भइसकेको भए स्थगित गरी अर्को मनोनयन मिति घोषणा गर्न पनि सर्वोच्चमा कांग्रेस नेताहरूको माग छ । नेपाली कांग्रेसको आन्तरिक विवादले फेरि एकपटक लोकतान्त्रिक अभ्यासको मर्यादा र राजनीतिक संस्कृतिमाथि गम्भीर प्रश्न उठाएको छ ।
पार्टीको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुगेसँगै कांग्रेसको संकट अब राजनीतिक सीमाबाट बाहिरिएर न्यायिक बहसको विषय बनेको छ । कांग्रेसको विवादका कारण प्रतिनिधिसभा निर्वाचन पनि प्रभावित हुने देखिएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्ष रिट लिएर आज सर्वोच्च पुगेपछि निर्वाचन तालिका सानुपर्ने अवस्था आएको हो । देउवा पक्षको रिटको पेशी ६ गतेलाई तोकिएको छ, जबकी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन ६ गतेलाई नै तोकिएको छ । कांग्रेसको विवाद मात्र नभै अन्य दलले पनि मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेको पाइएको छ ।






Facebook Comments