जाजरकोट।जाजरकोट भूकम्पबाट प्रभावित पीडित जनताले आफ्ना माग पूरा नभएको भन्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । आन्दोलनको पहिलो चरणअन्तर्गत आज भूकम्प पीडितहरूले जिल्लामा विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

विरोध प्रदर्शनमा सहभागी पीडितहरूले भूकम्पपछि गरिएको क्षति विवरण संकलन (डिडीय) प्रतिवेदन त्रुटिपूर्ण रहेको आरोप लगाउँदै त्यसलाई तत्काल सच्याउन माग गरेका छन् । उनीहरूले सरकारी लापरवाहीका कारण वास्तविक पीडितहरू राहत तथा पुनर्निर्माण सहयोगबाट वञ्चित भएको गुनासो गरेका छन् ।

पीडितहरूको मुख्य मागमा सम्झौता भइसकेका भूकम्प पीडितलाई घर निर्माणका लागि तोकिएको रकम तत्काल उपलब्ध गराउनुपर्ने, आफ्नै खर्चमा घर निर्माण सम्पन्न गरिसकेका पीडितलाई समेत राहत रकम दिनुपर्ने रहेको छ । यस्तै, डिडीय प्रतिवेदनसम्बन्धी गुनासाहरूको छिटो समाधान गर्नुपर्ने र आउन बाँकी घरहरूको डिडीय प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी छुट तथा बाँकी रहेका घरहरूको डिडीय प्रक्रिया तुरुन्त अघि बढाउनुपर्ने र भूकम्प पीडितमैत्री हुने गरी हालको कार्यविधि तत्काल संशोधन गर्नुपर्ने उनीहरूको माग छ ।

पीडित संघर्ष समितिले सरकारलाई माग सम्बोधनका लागि अल्टिमेटम दिँदै चेतावनी दिएको छ कि माग पूरा नभए आगामी निर्वाचन बहिष्कार गर्ने कदम चाल्न बाध्य हुनेछन् । समितिका अनुसार यो आन्दोलन शान्तिपूर्ण भए पनि माग सम्बोधन नभएसम्म थप कडा कार्यक्रम घोषणा गरिनेछ ।

सरकारले भूकम्प पीडितको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने भन्दै प्रदर्शनकारीहरूले न्याय, पारदर्शिता र समान व्यवहारको माग गरेका छन् ।