काठमाडौं ।नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका छन् । पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उनले आगामीफागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारी नदिनेनिर्णय लिएको उनीनिकट स्रोतले जनाएको छ ।

निवर्तमान कार्यवाहक सभापति खड्कासुर्खेत–१बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिसमा परेका थिए । तर, उनी निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निश्चित भएको स्रोतले पुष्टि गरेको छ ।

खड्कानिकट एक नेताका अनुसार उनी चुनाव नलडे पनि पार्टीका उम्मेदवारलाई जिताउनदेशभर प्रचार–प्रसारमा सक्रिय रहनेछन् ।
‘पूर्ण दाइ चुनाव लड्नुहुन्न, तर पार्टीलाई जिताउन देशभर जानुहुन्छ,’ ती नेताले भने, ‘उहाँको प्राथमिकता पार्टीको एकता र मजबुती हो।’

नेता खड्काले पार्टीसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको निर्णय जे आए पनि कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनका अनुसार अदालतको फैसला जुनसुकै पक्षमा आए पनि सबै धारलाई समेटेर पार्टी एकता कायम गर्ने खड्काको योजना छ ।
‘फैसला गगन थापाको पक्षमा आए पनि सबैलाई मिलाएर पार्टीलाई एकढिक्का बनाउने, संस्थापनको पक्षमा आए गगनजीहरूलाई पनि समेटेर अघि बढ्ने उहाँको भनाइ छ,’ ती नेताले बताए ।

खड्काको यो निर्णयलाई पार्टीभित्रको विवाद समाधान र संगठन मजबुत बनाउने रणनीतिका रूपमा हेरिएको छ ।

कांग्रेसका गगन थापालाई सभापति मानेर निर्वाचनमा जानुको विकल्प छैन । तर खड्काले उनै थापा नेतृत्वको कार्यसमितिविरुद्ध सर्वोच्च अदालतमा मुद्धा हालेका छन् । त्यसैले पनि नैतिकताका आधारमा खड्का पछि हट्न बाध्य भएको बुझिएको छ ।