ओखलढुंगा – नेकपा एमालेकी नेता अस्मिता थापाले लिखु गाउँपालिका उपाध्यक्ष पदबाट राजीनामा दिएकी छन्। उनले आफ्नो राजीनामा पार्टीको निर्णय र आवश्यकताअनुसार भएको स्पष्ट गर्दै, व्यक्तिगत पदको लालसा नभएको बताएकी छन्।

२०७९ जेठ ४ गते लिखु गाउँपालिका उपाध्यक्षमा निर्वाचित थापाले आफ्नो कार्यकालमा पदीय दायित्व पालन गर्दै विकास र सामाजिक न्यायमा योगदान पुर्‍याएकी छिन्। उनले आफ्ना कार्यकालमा कुनै गलत काम नगरेको र आफ्ना वाचा अनुसार सम्भव भएसम्म काम गरेको अनुभव साझा गरेकी छिन्।

राजीनामा दिएपनि थापाले लिखु र ओखलढुंगाका नागरिकप्रति आफ्नो उत्तरदायित्व र प्रतिबद्धता कायमै रहने बताएकी छन्। अब उनी पार्टीको निर्देशनअनुसार प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार भई, स्थानीय तहका समस्यालाई राष्ट्रिय तहसम्म पुर्‍याउने प्रयासमा लाग्नेछिन्।

थापाले जनता, शुभेच्छुक र अग्रजहरूप्रति आभार व्यक्त गर्दै, जिल्लाको विकासलाई थप गति दिने र राष्ट्रियस्तरमा आवाज गुन्जाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएकी छन्।

फागुन २१ गतेको निर्वाचनले उनको जीवनमा मात्र नभएर ओखलढुंगाको राजनीतिमै नयाँ इतिहास बन्ला ? यो चाहिँ रोचक प्रतिक्षाको विषय बनेको छ ।