
रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा ऋषि धमलाले उम्मेवारी दर्ता गराएका छन् । प्रभु शाहको नेतृत्वमा रहेको आम जनता पार्टीबाट धमलाले मनोनयन दर्ता गराएका हुन् । धमला (आम जनता पार्टी) को चुनाव चिन्ह मोबाइल रहेको छ ।
प्राइम टेलिभिजन र रिपोर्टस क्लब नेपालको अध्यक्षको जिम्मेवारीबाट विश्राम लिँदै धमला निर्वाचनमा होमिएका हुन् । धमलाले भ्रष्टाचार अन्त्य सुशासनका लागि आफू संसदमा जान लागेको बताएका छन् । रोजगारी सृजना गर्दै शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सके भ्रष्टाचार न्यूनीकरण हुने धमलाको भनाइ छ ।
धमलाको राजनीतिक प्रवेश केवल व्यक्तिगत महत्वाकांक्षा होइन, लामो समयदेखि उठाउँदै आएका जनसरोकारका मुद्दालाई नीति र कानूनको तहमा पु¥याउने प्रयासका रूपमा हेर्न सकिन्छ। पत्रकारितामार्फत शक्तिशालीलाई प्रश्न गर्ने, भुइँमान्छेको आवाज उठाउने र सार्वजनिक जवाफदेहिता स्थापित गर्ने भूमिकामा सक्रिय रहेका धमलाले अब संसदमार्फत संस्थागत परिवर्तनको बाटो रोजेका छन्।
सञ्चार क्षेत्रमा हासिल गरेको अनुभव, जनतासँगको प्रत्यक्ष सम्बन्ध र सुशासनप्रतिको प्रतिबद्धता उनको राजनीतिक यात्राको मुख्य पूँजी हो। यदि उनले पत्रकारितामा देखाएको निर्भीकता र जवाफदेहिताको अभ्यासलाई संसदीय भूमिकामा पनि कायम राख्न सके, ऋषि धमला नयाँ प्रकारको उत्तरदायी र जनमुखी प्रतिनिधिका रूपमा स्थापित हुन सक्ने सम्भावना बलियो देखिन्छ।
उम्मेदवार मनोनयन गर्न जानुअघि शुभकामना दिदै धमला पत्नी तथा मोडल (प्राइम टेलिभिजनकी निर्देशक) एलिजा गौतमले महत्वपूर्ण यात्रामा अघि बढेको भन्दै शुभकामना दिएकी छिन् ।
एलिजाले फेसबुकमा लेखेकी छिन् :
आज मनमा गर्व पनि छ र अलि भारीपन पनि।
वर्षौँसम्म क्यामेराअगाडि उभिएर सत्यका लागि लड्नुभएका मेरो जीवनसाथी ऋषि धमला आज जीवनकै एउटा ठूलो र नयाँ निर्णयतर्फ अघि बढ्दै हुनुहुन्छ। पत्रकारिता उहाँको पहिचान थियो तर जनताप्रतिको जिम्मेवारी उहाँको वास्तविक धर्म हो।
पत्रकारिता छोडेर राजनीतिमा होमिनु सहज पक्कै थिएन। यसबीचमा हामीले धेरै अनिँदा रातहरू काट्यौँ र निकै सोचविचार गर्यौँ। तर उहाँसँग भएको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले यो नयाँ यात्रामा पनि उहाँलाई सफल बनाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।
आज आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिई रौतहट क्षेत्र नं ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैँझैँ उहाँको साथमा छु। यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो।
यो यात्रा पदका लागि मात्र नभई जनताको सेवाका लागि हो। यस्तो पवित्र यात्रामा उहाँको सहयात्री बन्न पाउनु नै मेरो सबैभन्दा ठूलो शक्ति हो।
सानै उमेरमा पत्रकारिता गरेर संचार क्षेत्रमा महत्वपूर्ण योगदान दिएका ऋषि धमला सर्वाधिक परिचित पात्र हुन् । १४ वर्षको उमेरदेखि विभिन्न तरिकाले लोकतन्त्रका लागि वकालत गर्दै आएका धमला भुइमान्छेको समस्या उठान गर्ने पत्रकारका रुपमा परिचित छन् ।
उनले जिम्मेवार पदमा रहेका व्यक्तिलाई आफ्नो कार्यक्रममा ल्याएर जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।






Facebook Comments