
खोटाङ, ६ माघ – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खोटाङमा १५ जनाले मनोनयन दर्ता गरेका छन्।
जिल्लामा एउटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएकाले १३ राजनीतिक दल र दुई स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन्। नेकपा एमालेबाट जिल्ला अध्यक्ष देवबिक्रम राई, नेपाली कांग्रेसबाट महाधिवेशन प्रतिनिधि वीरकाजी राई, नेकपा (संघीय कम्युनिस्ट पार्टी)बाट अर्थशास्त्री एवं राजनीतिक विश्लेषक हरि रोका, श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई, रास्वपाबाट रुद्र गिरी, राष्ट्रिय परिवर्तन पार्टी (उज्यालो पार्टीसँग सहकार्य) बाट मिरेस राई लगायतका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै, जसपा बाट राकेश राई, माओवादी केन्द्रबाट केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाथोकी ‘शैलेस’, जसपा नेपालबाट जिल्ला अध्यक्ष सुनिल चाम्लिङ, राप्रपा बाट दिपक तामाङ, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रयाग राई, नेमकिपा बाट ध्यानप्रसाद ढकाल, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ र स्वतन्त्र उम्मेदवार डा. राजकुमार राई र तिलकचन्द्र राईले पनि दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृत फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिएअनुसार, १३ वटै दलले महिलालाई प्रतिनिधित्वमा समावेश नगरी उम्मेदवार दर्ता गराएका छन्। यसले समावेशी निर्वाचनको दृष्टिले चुनौती देखाएको छ।
जिल्लामा १ लाख ४७ हजार १२० मतदाता छन् र निर्वाचनका लागि १३६ मतदान स्थल तथा १९५ मतदान केन्द्र तोकिएका छन्।






Facebook Comments