
काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन्।
जनकपुरबाट पर्सा हुँदै चितवन पुगेका सभापति लामिछाने बुधबार अपराह्न काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले भने, “नचाहिने कुराहरू लगाएर अभियोजन गरिएको छ। तर अदालतको विकल्प छैन। जे–जस्तो भए पनि अदालती प्रक्रियालाई सम्मान र स्वीकार गर्नुपर्छ।”
आफूमाथि धेरै मुद्दा लाग्दा त्यसले मानसिक रूपमा ठूलो दबाब पर्ने उल्लेख गर्दै लामिछानेले अदालतप्रति गलत टिप्पणी नगर्न आग्रह गरे। “अदालतका बहसहरू सडकमा ल्याउनु राम्रो होइन,” उनले भने, “म अदालतप्रति आशा र भरोसा राखेर बसेको छु।”
चुनावसम्बन्धी प्रश्नमा उनले नतिजा जे आए पनि स्वीकार गर्ने संस्कार राजनीतिक दलहरूले देखाउनुपर्ने बताए। “प्रतिस्पर्धा स्वस्थ होस्। भड्काउने र उत्तेजित गर्ने गतिविधि कुनै पनि दलले गर्नु हुँदैन,” उनले भने।
चितवन–२ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका लामिछानेले चितवनलाई ‘घन्टीमय’ बनाउने अभियानमा आफू लागेको उल्लेख गर्दै भने, “चितवनले सुरुवातमै उत्साहजनक संकेत दिएको छ।”






Facebook Comments