
काठमाडौं —आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतगणनालाई पूर्ण रूपमा व्यवस्थित, स्वच्छ र विवादरहित बनाउन निर्वाचन आयोगले नयाँ निर्देशिका लागू गरेको छ। आयोगको पछिल्लो बैठकले‘प्रतिनिधिसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०८२’स्वीकृत गर्दै मतगणनाका प्रत्येक चरणलाई स्पष्ट र कडाइका साथ परिभाषित गरेको हो।
निर्देशिकाले मतपेटिका बुझ्ने प्रक्रियादेखि विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्नेसम्मका सबै चरणमा हुन सक्ने त्रुटि र विवादलाई न्यूनिकरण गर्ने उद्देश्य राखेको छ। विशेषगरी ट्रेड युनियनमा आबद्ध कर्मचारीको संलग्नता निषेध, सीसीटीभीको अनिवार्य प्रयोग र सुरक्षा व्यवस्थामा कडाइले मतगणनाको विश्वसनीयता बढ्ने आयोगको विश्वास छ।
निर्देशिका अनुसार मतदान हुनुअघि नै निर्वाचन अधिकृतले मतगणना स्थल तोक्नुपर्नेछ। उक्त स्थल पर्याप्त प्रकाश, सञ्चार सुविधा, सुरक्षा दृष्टिले सुरक्षित तथा उम्मेदवारका प्रतिनिधि बस्न मिल्ने ठाउँ भएको सरकारी भवन वा सार्वजनिक स्थल हुनुपर्ने व्यवस्था गरिएको छ। सरकारी भवन उपलब्ध नभएमा मात्रै अन्य उपयुक्त स्थान चयन गर्न सकिनेछ।
मतगणना स्थलमा सम्भावित अराजकता रोक्न कडा सुरक्षा घेरा बनाइनेछ। अनुसूची–५ अनुसार सुरक्षाकर्मी बाहेक अन्य कसैले पनि लाठी, भाला, खुकुरी, बन्दुक वा विस्फोटक पदार्थ बोकेर प्रवेश गर्न पाउने छैनन्।
ट्रेड युनियन आबद्ध कर्मचारीलाई रोक
निर्देशिकाको दफा ४ मा कुनै पनि राजनीतिक दलसँग आबद्ध ट्रेड युनियनका पदाधिकारी वा सदस्यलाई मतगणनामा खटाउन नपाइने स्पष्ट व्यवस्था गरिएको छ। खटाइने कर्मचारीलाई अनिवार्य रूपमा अभिमुखीकरण तालिम दिइनेछ। कर्मचारी छनोट गर्दा निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारीलाई प्राथमिकता दिइने र आवश्यकताअनुसार अन्य सरकारी कर्मचारी समावेश गरिनेछ।
सीसीटीभीसहित मतपेटिका सुरक्षा
मतदान केन्द्रबाट मतपेटिका मतगणना स्थलमा पुगेपछि अत्यन्त सुरक्षित रूपमा भण्डारण गर्नुपर्नेछ। मतपेटिका राखिएको कोठामा निर्वाचन अधिकृतले ताल्चा र लाहाछाप लगाउनुपर्नेछ भने उम्मेदवार वा उनीहरूका प्रतिनिधिलाई पनि छुट्टै लाहाछाप लगाउने अधिकार दिइएको छ। सो कोठामा सीसीटीभी जडान अनिवार्य गरिएको छ।
सबै मतदान केन्द्रबाट मतपेटिका संकलन नभएसम्म मतगणना सुरु गरिने छैन। गणना सुरु गर्नु अघि निर्वाचन अधिकृतले स्थान, मिति र समय तोकी सार्वजनिक सूचना जारी गर्नुपर्नेछ। साथै उम्मेदवार र दलका प्रतिनिधिसँग छलफल गरी मतगणनाका नियमबारे जानकारी गराइनेछ।
मतपेटिका खोल्नु अघि सुरक्षासिल दुरुस्त छ कि छैन भन्ने विषय उम्मेदवारका प्रतिनिधिलाई देखाएर मुचुल्का तयार गरिनेछ।
दुई वा सोभन्दा बढी केन्द्रका मत मिसाएर मात्र गणना
मतगणनाको गोपनीयता कायम राख्न आयोगले दुई वा सोभन्दा बढी मतदान केन्द्रका मतपत्रलाई एकै ठाउँमा मिसाएर मात्र गणना गर्ने व्यवस्था कायम राखेको छ। एउटा केन्द्रको मात्र मत गन्दा टोल वा समुदायगत मतदान प्रवृत्ति खुल्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको आयोगको भनाइ छ।
मिसाइएका मतपत्रलाई ५० वा १०० को ठेली बनाएर रबरले बाँधी गणना प्रक्रिया अघि बढाइनेछ। उम्मेदवारका प्रतिनिधिले मतपत्र छुन नपाए पनि नजिकबाट अवलोकन गर्न पाउनेछन्।
बदर मतका स्पष्ट १२ आधार
निर्देशिकाको दफा २२ ले मत बदर हुने अवस्थालाई १२ बुँदामा स्पष्ट पारेको छ। मतदान अधिकृतको दस्तखत नभएको, स्वस्तिक चिन्हबाहेक अन्य चिन्ह प्रयोग गरिएको, च्यातिएको वा अत्यधिक लतपतिएको, एकभन्दा बढी उम्मेदवारको कोठामा छाप लगाइएको, कोठाबाहिर छाप परेको, जाली मतपत्र फेला परेको वा मतपत्रभित्र अन्य वस्तु भेटिएको अवस्थामा मत बदर हुनेछ।
मत बराबर भए गोलाप्रथा
यदि कुनै उम्मेदवारले मतगणनामा असन्तुष्टि जनाउँदै पुनः गणनाको माग गरेमा निर्वाचन अधिकृतले त्यसको आधार हेरी निर्णय गर्नेछन्। तर मुचुल्का भइसकेपछि पुनः गणनाको माग गर्न पाइने छैन।
दुई उम्मेदवारको सदर मत संख्या बराबर भएमा निर्देशिकालेगोलाप्रथाबाट विजेता छनोटगर्ने व्यवस्था गरेको छ। गोलाप्रथाबाट छनोट भएको उम्मेदवारलाई एक मत बढी पाएको मानिनेछ।
नतिजा सिधै केन्द्रीय सर्भरमा
यस निर्वाचनमा आयोगले ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’को प्रयोगलाई थप प्रभावकारी बनाएको छ। मतगणनाको पछिल्लो नतिजा तत्कालै सफ्टवेयरमा प्रविष्ट गरी केन्द्रीय सर्भरमा पठाइनेछ। आम जनतालाई मतगणना स्थल बाहिर डिस्प्ले बोर्ड, माइक वा लाउडस्पिकरमार्फत समय–समयमा नतिजा जानकारी गराइनेछ।
मोबाइल र क्यामेरा पूर्ण प्रतिबन्ध
मतगणनाको गोपनीयता भङ्गलाई गम्भीर अपराध मान्दै गणना स्थलमा मोबाइल फोन र क्यामरा लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। मतपत्रको फोटो खिच्ने, विवरण सार्वजनिक गर्ने वा मतगणनामा अवरोध पुर्याउनेलाई निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ अनुसार कैद र जरिवानाको व्यवस्था गरिएको छ। यस्तो अवस्थामा सुरक्षाकर्मीले विनापुर्जी गिरफ्तार गर्न सक्नेछन्।
निर्देशिकाले स्वीकृत निर्वाचन पर्यवेक्षकलाई गणना अवलोकन गर्न अनुमति दिएको छ, तर मतपत्र नजिक जान वा गणनामा हस्तक्षेप गर्न उनीहरूलाई निषेध गरिएको छ।






Facebook Comments