काठमाडौं । स्वास्थ्य मन्त्रालयकी पूर्वसचिव डा. संगीता मिश्रासँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पुर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको ठहर गर्दै तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
आयोगका अनुसार ठेक्का सम्झौताको सर्तविपरीत मिलेमतो गरी सम्पूर्ण सामग्री नआउँदै झुट्टा बिल–बिजक, गलत प्रतिवेदन तयार पारेर भुक्तानी गरिएको थियो। यस प्रकरणमा करिब १४ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिदका क्रममा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको अभियोग पत्रमा उल्लेख छ।







Facebook Comments