दमक । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले ७० प्रतिशत मत ल्याएर जित हासिल गर्ने दाबी गरेका छन्।

कमल गाउँपालिकाका पार्टी कार्यकर्तासँगको भेटमा ओलीले नेपाली कांग्रेस अझै संगठित हुन नसकेको र पूर्वमाओवादी धारका धेरै मतदाता पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको दाबी गरे। उनका अनुसार खसेको कुल मतको दुईतिहाइभन्दा बढी मत एमालेको पक्षमा जानेछ।

ओलीले यहाँको विकास, रूपान्तरण र जनआधारका कारण सिंगो क्षेत्र नै एमालेको पक्षमा एकढिक्का रहेको बताए। अहिलेको राजनीतिक परिस्थितिमा राजनीति अपराधीकरणतर्फ धकेलिन थालेको उल्लेख गर्दै उनले जेन–जी आन्दोलनका नाममा राजनीतिक गतिविधिभन्दा बढी आपराधिक काम भएको आरोप दोहोर्‍याए।

उनले बाह्य दबाब स्वीकार नगर्ने स्पष्ट पार्दै कांग्रेस–एमाले सहकार्य रोक्न र देशमा विदेशी प्रभाव बढाउन यस्ता गतिविधि गरिएको दाबी गरे। “हामीलाई दबाब दिएर चलाउन खोज्नेहरू पनि आउलान्, तर त्यस्तो दबाब स्वीकार हुँदैन। अस्थिरताको खेतीबाट देशलाई जोगाउन जरुरी छ,” ओलीले भने।

ओलीले पछिल्ला आगजनीका घटनाप्रति प्रश्न उठाउँदै नगरपालिका र व्यापारिक कम्प्लेक्स जलाउनुको औचित्यमाथि सवाल गरे। दमकलाई नमूना सहरका रूपमा विकास भइरहेको उल्लेख गर्दै उनले भवनहरू भ्यू टावरभन्दा पनि आईटी हबका रूपमा विकास गर्न सकिने धारणा राखे।

काठमाडौं महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै ओलीले सुकुमबासी बस्तीमा डोजर चलाउनेहरूलाई भूमिहीन नागरिकको बसोबास कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञान नभएको टिप्पणी गरे। उनले विपन्न आवास कार्यक्रम, एकीकृत बस्ती विकासलगायत योजनामार्फत धेरै नागरिकले घरबास पाएको स्मरण गराए।